लेखनाथ सिटी हस्पिटल सञ्चालनमा
17-November-2017

जकसन डटकम
पोखरा, ०२ मंसिर

अत्याधुनिक सेवासहित लेखनाथ सिटी हस्पिटल शुक्रबारदेखि सञ्चालनमा आएको । लेखनाथ क्षेत्रमै पहिलो पटक आइसियु, एनआइसियु सेवासहितको अत्याधुनिक हस्पिटल सञ्चालनमा आएको हो । लेखनाथ क्षेत्र, रुपा र मादी गाउँपालिका, तनहुँ, लमजुङ, गोरखा र स्याङ्जाको केही भागलक्षित खुलेको हस्पिटल शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
हस्पिटलको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।

हस्पिटलको उद्घाटन गर्दै मेयर जिसीले पुरानो पोखराबाट विकास र सम्भावनाहरु लेखनाथ क्षेत्रमा बिस्तार हुँदै गएको बताए । ‘लेखनाथ क्षेत्र पोखरामा गाभिएको होइन । यो महानगरपालिका निर्माणका लागि जोडिएको हो । त्यसैले लेखनाथको नामलाई बचाउने काम यस्तै संरचनाहरुले गर्नेछन्,’ मेयर जिसीले भने, ‘यो हस्पिटलले लेखनाथ क्षेत्रको विकासलाई टेवामात्रै पु¥याउने छैन, पुरानो पोखरामै जानुपर्ने बाध्यता पनि हटाउने छ ।’

हस्पिटलका प्रवन्ध निर्देशक उदीपराज ढुंगानाले समयमै उपचार नपाएर आफ्नो बुबाको अकालमा निधन भएको स्मरण गर्दै आफ्नो स्वास्थ्य क्षेत्रमा केही गर्ने सपना पूरा भएको बताए । ‘समयमै उपचार नपाएर मेरो बुबाको निधन भएजस्तो अब कसैलाई नहोस् । लेखनाथ, रुपा, मादी, तनहुँ, गोखरा लगायतका क्षेत्रका नागरिकको उपचार गर्न जाने दुरी घटाएका छौं,’ ढुंगानाले भने, ‘आइसियु, एनआइसियुसहितको अप्रेसन सेवासमेत अब लेखनाथ सिटी अस्पतालबाट पाउनुहुनेछ ।’

नेकपा माओवादी केन्द्रका नेता झलकपाणि तिवारीले राम्रो स्वास्थ्य सेवा लिन विजयपुर कटेर नै जानुपर्ने वाध्यता अब नरहने विश्वास व्यक्त गरे । ‘केही भइहाल्यो कि लेखनाथ क्षेत्रबाट विजयपुर कटेरै जानुपर्ने अवस्थामा यो हस्पिटलले राहत प्रदान गर्नेछ,’ तिवारीले भने, ‘राम्रो र विशेषज्ञ सेवा दिएर जनताको मन जित्दै जानुहोला ।’ 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले लेखनाथ क्षेत्रमा खुलेको हस्पिटलले उत्साहीत बनाएको बताए । ‘हाम्रै क्षेत्रमा अत्याधुनिक सेवासहित २४ घन्टे हस्पिटल खुलेको छ । यसलाई हामीले विश्वास गर्न र अस्पतालले स्वास्थयप्रति सचेत रहेर सेवा दिनुपर्छ,’ भण्डारीले भने, ‘निजी क्षेत्रको लगानीले नै विकास र त्यसको व्यवस्थापन राम्रो हुने छ ।’ 

पोखरा–२६ का वडाध्यक्ष नारायणप्रसाद बरालले लेखनाथ क्षेत्रमा खुलेको अस्पतालले सेवासँगै मानवीय धर्मलाई पनि नभुल्न आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । हस्पिटलका निर्देशक सुजन रानाभाटले १० प्रतिशत गरिब र असहाय नागरिकको लागि निशुल्क उपचारका लागि छुट्याइने बताए । ‘हामी नाफा कमाउनेमात्रै सोचले अगाडि बढेका छैनौं । गरिब, असहायलाई अकालमा ज्यान जान पनि दिने छैनौं,’  रानाभाटले भने, ‘सामाजिक उत्तरदायित्व पनि हामीले बहन गर्नेछौं ।’ 

हस्पिटलका अध्यक्ष डा. कमल कुमालको अध्यक्षता भएको कार्यक्रममा शनिबार अस्पतालले निशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको पनि उनले जानकारी दिए । अहिले २५ सैया रहेको अस्पतालले आगामी दिनमा सेवा र शैया बिस्तार गर्दै लैजाने जानकारी दिएको छ ।

हस्पिटलमा २४ घण्टा इमरजेन्सी तथा अपरेसन सेवासहित बालरोग, स्त्रीरोग, फिजिसियन, लगायतका दैनिक विशेषज्ञ सेवा, भिडियो एक्स रे, इको इसिजि, एक्स रे सेवा, गुणस्तरीय ल्याब सेवा, दन्तरोग उपचार सेवा, ओपिडी सेवा, लगायतको सेवा दैनिक रुपमा प्रदान हुने अध्यक्ष कुमालले जानकारी दिए ।

पूर्णकालिन बिशेषज्ञ चिकित्सकहरुबाट आकस्मिक सेवा, एनालाइजरसहितको ल्याव सेवा, हाड जोर्नी सम्बन्धि शल्यक्रिया, अन्तरंग सेवा, आधुनिक उपकरणहरुसहितको पोष्ट अपरेटिभ सेवा लगायत सेवा सुरु गरिएको हो ।