बाक्लो झरीका कारण पोखराको ठाऊँ ठाऊँमा डुबान , सेतीको वहाव बढ्यो , नदीपुरमा जमिन भासियो
16-July-2015

३१ असार | बुधबार साँझदेखि निरन्तर भैरहेको वर्षाको कारण पोखराको विभिन्न क्षेत्र प्रभावित भएको छ । अत्याधिक पानी परेको कारण पोखराको विभिन्न स्थान डुबानमा पर्ने खतरा बढेको छ भने सेतीको वहाब पनि निकै बढेको छ ।

वर्षाले निर्माणधिन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल आसपासका घरहरु डुवानमा परेका छन् । विमानस्थल निर्माणका क्रममा खनिएको नालामा पानीको मात्रा बढी भएपछि पोखरा वडा न्ां. १४, १५ र १८ का वस्तीहरु डुवानमा पर्नुका साथै मानिसहरु विस्थापित भएका छन् ।

पोखरा उपमहानगरपालिका कार्यालयको आडमा जमिन भासिएको छ । यता पोखराको नदिपुरमा जमिन भासिएको छ । अर्मलामा जमिन भासिएर त्रसित भइरहेका पोखरेलीलाई यसले झनै त्रास बढाएको छ । नदिपुर स्थित सविता राजभण्डारीको आठ आना जग्गा ५ फिट तल भासिएको प्रहरीले जनाएको छ । जमिन भासिएपछि स्थानीय गीता खड्काको पक्की घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर पालले बताएका छन् ।

त्यस्तै सिमलचौरमा पनि अमरज्योती बोर्डिङ स्कुल नजिकको जमिन भासिएको छ । र, त्यहाँको एक घरको पर्खाल भत्किएको त्यहाँका स्थानियबासी रोहन नेपाली ‘शिव’ले जनाएका छन् ।

यस्तै प्रस्तावित चक्रपथ भलाममा पहिरो जादा सडक अवरुद्ध भएको छ भने भलाम निवासी कुलबहादुर हमालको घर जोखिममा परेको छ । पोखरा ९ रामघाटमा सेती नदी जलमग्न हुँदा त्यहाँका केहि घरहरु डुवानमा परेका छन् ।

पोखरा उपमहानगरपालिका–१३ स्थित काहुँ खोलामा भीषण बाढी आएको छ । बाढीका कारण बुडुवा, कमलपोखरी लगायत आसपासका बस्तीहरु डुवानमा परेका छन् । वडा नम्बर १२ का पनि अधिकांश क्षेत्रहरु डुबानमा परेको पत्रकार राम गुरुङले आफ्नो फेसबुकमा लेखेका छन् ।

काहुँखोला क्षेत्रमा बाढीका कारण स्थानीयले भर्खरै रोपेको धान खेत समेत डुबाएको छ । खोला आसपासका घरहरुमा पानी पसेको छ । बर्षा नरोकिएको र खोलामा पानीको सतह बढी भएको कारणले त्यहांको नजिकको बजार डुव्न सक्ने त्रासले स्थानीयबासी त्रसित बनेका छन् ।

त्यस्तै सेती नदीको वहाव बढेपछि रामघाट थुनिएर निकै ठुलो ताल बनेको छ । र, सेती नदी आसपास रहेको सुकुम्बासी बस्तीका मानिसहरु त्रसित अवस्थामा छन् । झरीको मात्रा बढि भएका कारण पोखराका विभिन्न स्थानमा घरभित्र पानी पसेको छ । पानी घरभित्रै पस्ने र बाहिर झरी नरोकिने भएकोले जनजीवन प्रभावित बनेको छ ।

बाक्लो र निरन्तर झरी परेको कारण पोखराका सडकमा ठुलो ठुलो भेल बगेको छ । र, सर्वसाधारणहरु कमै मात्र बाहिर निस्किएका छन् । झरीले पोखराको कुन कुन स्थान डुबानमा परे र कति क्षती भयो भन्ने विषयमा पुर्ण विवरण आउन बाँकी नै छ ।

copy : http://www.mainkhabar.com/heavy-rain-at-pokhara-destroys-daily-life/

Write a Comment