महिला अधिकार कागजमा,ब्यवहारमा महिला हिंसा बढि
9-December-2017


जकसन डटकम
पोखरा, २३ मंसिर

कानुनमा महिला अधिकार भए पनि ब्यवहारमा महिला माथि प्रथा परम्परा र संस्कारका नाममा विभिन्न तरीकाबाट हिंसा भइरहेको पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले बताएका छन् । लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानका सन्र्दभ महिला पर्यटन ब्यवसायि मंञ्च (ओटेफ) द्धारा आयोजित व्यवसायिक महिलाका अवसर र चुनौती विषयक कार्यक्रममा सहभागिहरुले महिला अधिकारको प्रत्याभूति ब्यवहारमा हुन नसकेको बताए ।  कामकाजी महिलाको समस्या झनै जटिल भएको उनीहरुको भनाइ थियो ।

देशमा जति ब्यवस्था बदलिए पनि महिला माथिको सकारात्मक दृष्टिकोण हुन नसक्दा घर देखि कार्यालय र ब्यवसाय स्थल सम्म महिलाले विभिन्न चुनौती सामाना गर्नु परेको उनीहरुको भनाई थियो । कार्यक्रमका प्रमुख वक्ता महिला तथा बालबालिका कार्यालय पोखराका प्रमुख लक्ष्मी जिसीले कानुनले महिला अधिकारका सवालमा सुन्दरता प्राप्त गरे पनि ब्यवहारिक पक्षमा महिला अझै आफ्नो अधिकारको उपभोग गर्न सक्ने अवस्थामा नभएको बताइन् । ‘देखिएका भन्दा नदेखिएका अनगिन्ति हिंसा महिलाले भोगिरहेको छन् । अधिकार प्राप्तिकालागि यात्रा अझै बाँकी छ ’ उनले अधिकार आफुहरुकालागि मात्रै नभइ सुन्दर समाजमा निर्माण र आफु पछिका पुस्ताको अधिकारकालागि भएको बताइन्  । जि.सीले  ब्यवसायिक महिलामा दोहोरो तेहेरो जिम्मेवारीले समस्या थपिएको अब घर भित्रको कामको जिम्मेवारीको पनि बाँडफाँड गरेर ब्यवसायिक महिला अघि बढ्नु पर्ने जोड दिइन् । 

अधिवक्ता सुरेन्द्र थापा मगरले महिला हिंसाको वर्तमान अवस्थाको बारेमा सहजिकरण गरेका थिए । समाजमा सामाजिक न्याय स्थापित गर्न महिला र पुरुष दुबैको समान सहभागिता र आत्मसम्मानको खाँचो रहेको उनको भनाई थियो । थापाले आर्थिक अधिकारले महिलाको आत्मविश्वासमा जगाउने भन्दैमहिला आत्मनिर्भर हुने प्रयासमा जोड दिनु पर्ने बताए ।   

कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले महिला विभिन्न प्रथा परम्पराका नाममा हिंसा पीडित भएको भन्दै अब विवाहमा छोरीलाई कन्यादान दिने, मासिक स्रावलाई धर्म र संस्कार सँग जोडेर महिलालाई अछुत बनाउने जस्ता कुप्रथाको बारेमा महिला स्वय्मले परिवर्तन गर्नु पर्ने बताइन् ।  

कार्यक्रममा पोखरा पर्यटन परिषदका महासचिव कृष्ण भण्डारी, पर्यटन ब्यवसायी एवं महिला नेतृ देवका पहारी, जन प्रतिनिधि विष्णु भट्टराई, महिला समन्वय समितिका अध्यक्ष विष्णु के.सी, वडा नगारिक मञ्चका अध्यक्ष विष्णु हरी अधिकारी, पर्यटन ब्यवसायि महिला मन्धरा ढकाल, लगायतले मिठो भाषणले मात्रै महिला अधिकार स्थापित नहुने भन्दै महिला माथि हुने विभिन्न हिंसा र त्यसले परिवार समाज र राष्ट्रमा पारीरहेको असरको अध्ययन गरेर आफुबाट परिवर्तनको शुरुवात गर्न आग्रह गरेका थिए । 
 पर्यटन ब्यवसायि महिला मञ्च ओटेफका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत पार्वती पाण्डे र संचालन उमा भण्डारीले गरेकी  थिइन् ।