कुमुदिनीमा चित्रलेखन प्रतियोगिता
15-December-2017


जकसन डटकम
पोखरा, ०१ पुष

पोखरा लेखनाथ–४, गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स् माविको ३१ सौं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइँदै छ ।  सोही अवसरमा शुक्रबार विद्यालयमा मावि स्तरीय चित्रलेखन प्रतियोगिता भएको छ । 

प्रतियोगितामा कुमुदिनीका जेसिका पुन प्रथम, नव प्रभातका  निरञ्जना महत द्वितीय र शिशु निकेतनका अनुसुया बराल तृतीय भए । यस्तै कास्की मोडर्नाइज्ड र सैनिक आवासीयका विद्यार्थी क्रमशः सुस्मिता राना मगर र चलित श्रेष्ठ सान्त्वना भए ।

प्रतियोगितामा प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजारका साथमा प्रमाणपत्र प्रदान गरियो । ४२ विद्यार्थी सहभागी प्रतियोगिताको निर्माणकमा अग्रज कलाकार यादवचन्द्र भुर्तेल थिए ।

शुक्रबार नै विद्यालयले श्री कृष्ण प्रणामी बाल तथा वृद्धाश्रम लेखनाथमा खाद्यान्न वितरण गरेको छ ।  विद्यालयका सहप्राचार्य  मनबहादुर  भुजेल, सञ्चालिका मिना पलिखे लगायतले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयको वार्षिकोत्सव मूल समारोह भने आज शनिबार हुँदै छ । सो अवसरमा सामुदायिक विद्यालयबाट सर्वाेत्कृष्ट विद्यार्थीको रुपमा ज्योत्सना जोशीलाई पुरस्कृत गरिँदै छ । उनलाई नगद ५ हजार र सम्मानपत्र प्रदान गरिनेछ । यस्तै कुमुदिनीबाट एसइइ परीक्षामा सर्वाेत्कृष्ट हुने सृष्टि कोइराला र इशा श्रेष्ठलाई पनि जनही ५ हजार नगद, सम्मानपत्र र मेडलसहित सम्मान गरिने सहप्राचार्य मुकेशकुमार अधिकारीले जानकारी दिए । 

सामुदायिक विद्यालयलाई सहयोग अन्तर्गत हिमालयन प्रावि लप्सीटाँकुरा, पुरञ्चौरका विद्यार्थीलाई स्टेशनरी हस्तान्तरण गरिने कार्यक्रम छ । कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुतिसमेत राख्नेछन् ।

Write a Comment