काठमाडौंको तापक्रम २ डिग्रीमा र्झयो, अझै चिसो बढ्ने
16-December-2017


जकसन डटकम
काठमाडौं, ०२ पुस

तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘जाडोयाममा चिसो बढ्नु नौलो कुरो होइन । तर, यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुला) पनि देखिएकाले तुलनात्मकरुपमा तापक्रम घटेको र तुसारो परेको छ’–उनले भने ।

केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिकरुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने’ 

मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । शुक्रबार राति काठमाडौंको तापक्रम माइनसमा झरेको थियो । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ । दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । 

खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् । महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् २ दशमलव ८ र अधिकतम् २१ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस ४ र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ । 

Write a Comment

Events
Random Picks