पुम्दीभुम्दीबासी भन्छन् – केबुलकार चाहियो
22-July-2015

पोखरा ,६ साउन ।

पर्यटन विकासका लागि पोखराको बसुन्धरापार्कदेखि फेवाताल हुँदै पुम्दीभुम्दीको डाँडासम्म केबुलकार बनाउन स्थानीयबासीले माग गरेका छन्।कास्कीका सभासद्हरूले बसुन्धरापार्कदेखि अनदुकोडाँडासम्म केबुलकार बनाउन नदिने अभिव्यक्ति दिएकोमा विरोध गर्दै निर्माण गर्नैपर्ने माग गरेका हुन्। स्थानीय राजनीतिक दल, पर्यटन व्यवसायी नागरिक समाजका प्रतिनिधिले हचुवाका भरमा केबुलकार बनाउन नहुने निर्णय गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

पर्यटकीय नगरी पोखरामा हालै थपिएको वडा नं २५ मा पर्ने स्थान पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले तत्काल केबुलकार निर्माणकार्य अघि बढाउन स्थानीयले प्रेस विज्ञप्तिमार्फत माग गरेका छन्।

‘पर्यटन क्षेत्रको उत्थानका लागि केबुलकार सञ्चालनको तयारी भइरहेको बेला बसुन्धरा पार्क संरक्षण समितिका नाममा पुम्दीभुम्दीप्रति नकारात्मक प्रचार गराउने मनगढन्ते कुराप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विभिन्न क्षेत्रका आठ प्रतिनिधिद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ‘केबुलकार पुग्नु भनेको पुम्दिभूम्दिको विकासको ढोका खोल्ने माध्यम भएकोले उचित स्थानको पहिचान गरी सञ्चालन गर्न माग गर्दछौं। ‘

उनीहरूले केबुलकार निर्माण र सञ्चालनका लागि सरकार, पर्यटन बोर्ड, पर्यटन परिषद्,पर्यटन व्यवसायी, राजनीतिक दल र सभासद्लाई पहल गर्न आग्रह गरेका छन्। विश्व शान्ति स्तुपा क्षेत्र विकास समितिका अध्यक्ष हिमलाल बरालले केबुलकार सञ्चालकले अनदुमा बन्नेपार्क, मन्दिर र अन्य आम्दानी स्थानीय क्षेत्रमा लगानी गर्ने भएकोले विकासको ढोका खुल्ने बताउँदै त्यसको विरोध गरिएकोमा आपत्ति जनाए।

‘लेकसाइडका केही व्यवसायीले तालमा ढल मिसाउने, मापदण्ड विपरित ठूला होटेल बनाएर कंक्रिटको जंगल बनाइरहेका छन,’ उनले भने ‘हामी तालपारिका जनताले आफ्नो बास पनि उठाएर रानीबन बनाउन दियौं। हामीले अक्सिजन दिइरहने, लेकसाइडकाले कार्वन मात्र उत्पादन गर्ने। अहिले केबुलकार बनेर विकास होला भनेको त्यही पनि खोस्न खोज्ने कहाँको न्याय हो।’ उनले सभासद्हरूले पनि केही व्यवसायीको लहलहैमा हचुवाको भरमा केबुलकार बन्न हुँदैन भनेर पुम्दीभुम्दीकाबासिन्दालाई मर्कामा पारेको भन्दै आक्रोश व्यक्त गरे।

‘हाम्रै भोट पाएर सभासद् बन्ने, अहिले हामीलाई नै विकासमा पछि पार्ने कहाँको न्याय हो’ उनले भने ‘कुनैपनि हालतमा केबुलकार बन्नुपर्छ। हामीले विकास पाउनैपर्छ।’ संयुक्त विज्ञप्तिमा पोखरा २५ का सचिव रामप्रसाद पौडेल, विश्व शान्ति स्तुपा क्षेत्र विकास समितिका अध्यक्ष हिमलाल बराल, पुम्दिकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हस्ताक्षर गरेका छन्।

यसैगरी विज्ञप्तिमा एमाओवादीका अध्यक्ष नवराज बराल, एमालेका अध्यक्ष त्रिलोचन बराल, राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष शंकरप्रसाद बराल, नेपाली कांग्रेस संयन्त्र प्रतिनिधि धनन्जय बराल, बडा नागरिक मन्च पुम्दिका संयोजक मित्रलाल बराललगायतले हस्ताक्षर गरेका छन्।

स्रोत : अन्नपूर्ण

Write a Comment