सिर्सेकोट देउराली स्कुललाई सहयोग
18-December-2017

जकसन डटकम

पोखरा, ०३ पुस

वालिङ नगरपालिका वडा नं.–१२, सिर्सेकोट, कोखेमा रहेको सिर्सेकोट देउराली आधारभूत बिद्यालयलाई ताईवान र सिङ्गापुरमा रहेको संस्थाले भवनको लागि निर्माण सामाग्री सहयोग गरेको छ । वान हुवा जेन्सिन एजुकेशन फाउण्डेसन ताईवान र हुई ग्वाङ्ग मोरल स्टडी सेन्टर सिंगापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङको पहलमा सो सहयोग आएको विद्यालयकी प्रधानाध्यापक गौमती गुरुङले वताईन्। उनले, ‘केहि महिना पहिला सिर्सेकोट, कोखे गाउँमा आयोजना गरिएको महोत्सवमा यामबहादुर गुरुङ आउनु भएको थियो । त्यसवेला उहाँलाई विद्यालयको अवस्थाको वारेमा अवगत गराईएको र उहाँले आफ्ना गुरुलाई वताए पछि विद्यालयको निरिक्षण गर्न ताईवानबाट गुरु आउनु भयो । गुरुले पनि नेपाल सरकारले केहि सहयोग गर्छ भने आफ्नो संस्थाले पनि सहयोग गर्न तयार भएको वताउनु भयो । र उहाँले तिन लाख सहयोग आई सकेको वताईन् ।’

आफु महोत्सवमा आएको वेला विद्यालयको अवस्था नाजुक देखेको र आफु आवद्ध संस्थालाई सक्ने सहयोग गर्न आग्रह गरेको यामबहादुर गुरुङले वताउदै उक्त संस्थाले भुकम्प पछि विभिन्न जिल्लाका विद्यालयलाई सम्बन्धित जिल्ला शिक्षा कार्यालयको मातहतमा सहयोग गर्दै आएको वताए । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबिराज गुरुङले आर्थिक अवस्था कमजोर भएको स्कुललाई निर्माण सामग्री सहयोग गरेर विद्यालयलाई ठुलो गुन लगाएको र आत्म विश्वास वढेको वताए ।

शिद्धार्थ राजमार्गमा पर्ने वायाँटारीबाट १३ किमि टाढा रहेको तत्कालिन सिर्सेकोट गाउँ बिकास समिति वडा नं. ५ मा वि.सं. २०२० सालमा स्थापना भएको स्कुल विभिन्न संघसंस्थाको सहयोगमा चलेको अध्यक्ष गुरुङले वताए । साथै विद्यालयले केहि समय पहिला स्कुलको स्वर्णमहोत्सवको अवसर पारेर केहि रकम वचत गरि विद्यालयको पक्कि दुई कोठा वनाएको र विद्यालयमा पुस्तकालय स्थापना गर्नको लागि किताब लगाएतका सामग्री पहार ट्रष्ट नेपालले सहयोग गरेको उनले वताए ।

हाल कक्षा शिशु देखि कक्षा ८ सम्म विद्यार्थी १०५ जनालाई दरबन्दीका ४, बालबिकास शिक्षक १ र ६ जना निजि गरी ११ जना शिक्षकले अध्यापन गराई रहेका छन् । आफ्नै निजि श्रोतमा ४ जना शिक्षिकाहरु रहेको र सबै शिक्षिकाहरुले चलाएको तथा अंग्रेजी माध्यममा पढाई हुने उक्त विद्यालयमा काउले, कोखे, भण्डारी गाउँ, ढोके डाँडा, घुन्पाती, लम्फर्लकबाट विद्यार्थी पढ्न आउने विद्यालयकी प्रधानाध्यापकले वताईन्।