अन्ततः ट्याक्सी उचालेरै खोल्यो प्रहरीले सडक
10-January-2018


उमा आलेमगर
पोखरा, २६ पुस


ट्याक्सी चालकले बन्द गरेको सडक खुलेको छ । प्रहरीले ट्याकसी उचालेरै सडक खुलाएको हो । ट्याक्सी चालकहरुको आन्दोलनका कारण पोखरा अस्तब्यस्त बनेको थियो ।

पोखराका मुख्य चोकका सडकमा ट्याक्सी तेसारेर ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएपछी पोखराको पृ्थ्बीचोक, सभागृहचोक, सिर्जनाचोक लगायतका मुख्य स्थानमा आवत जावत ठप्प भएको थियो । आन्दोलनका कारण ठाउठाउमा ट्राफिक जाम भएको थियो । कास्की प्रहरीले चोक चोकमा तेसारेर राखिएका ट्याक्सीहरु हातैले उचालेर छेउ लगाएका थिए । ट्याक्सीहरु हटाउन कास्की प्रहरी प्रमुख अशोक सिंह आफै चोकमा पुगेका थिए ।

मिटरमा ट्याक्सी चलाउन नमानेपछि मंगलबार बेलुकी पोखराको बिभिन्न स्थानबाट कास्की प्रहरीले ट्याक्सीसहित १७ जनालाई नियन्त्रणमा लिएको थियो । उपभोक्ताहरुलाई मनपरी भाँडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमूख अशोक सिंहले बताएका छन्। नियन्त्रणमा लिइएको चालकहरुलाई यातायात कार्यलय पठाएको एसपी सिंहले जानकारी दिए। एसपी सिंहले भने, ‘मनपरी ढङ्गले भाडा उठाई सर्वसाधारण यात्रुहरु ठगीमा परेको जनगुनासाहरु आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिन बाध्यात्मक स्थिति आएको हो।’

यता, ट्याक्सीसहित प्रहरीले चालकहरुलाई नियन्त्रणमा लिएको भन्दै पोखरामा ट्याक्सी व्यवसायीसहित चालकहरु आन्दोलित बनेका हुन्। पोखराको सडकमा ट्याक्सी खडा गरेर आन्दोलनकारीहरुले साङ्केतिक हड्तालमा उत्रिएका हुन्। मंगलबार बेलुकी नियन्त्रणमा लिइएका ट्याक्सी र चालकहरुलाई नछाडेसम्म पोखरा नगरभित्र चल्ने २२ सय ट्याक्सी व्यवसायी तथा सम्बद्ध चालकहरुले आवागमन ठप्प पार्ने जनाएका थिए।

स्थानीयस्तरमा बैज्ञानिक भाडादर कायम हुनुपर्ने ट्याक्सी व्यवसायीहरुको माग छ। ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले स्थानीयस्तरमै ट्याक्सीको न्यूनतम भाडादर कायम हुनुपर्ने बताए। ‘उपभोक्ताहरु ठगिएकोमा हामीसमेत चिन्तित छौं,’ तिवारीले भने, ‘ सम्बद्ध निकायहरुबाटै मिटरमा न्यूनतम भाडादर कायम गर्नुपर्यो।’

Write a Comment