कास्कीको पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो
31-July-2015

जक्सन डटकम पोखरा, साउन १५ । गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा ठूलो क्षति हुनबाट जोगिएको कास्कीमा बुधबार राती परेको अविरल बर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ ।

बर्षासँगै आएको बाढीपहिरोमा परी कास्कीका तीन गाविसमा ३० जनाको दुःखद निधन भएको छ । १८ जना घाईते भएका छन् भने करिब १ दर्जन हराईरहेका छन् । सबैभन्दा बढी कास्कीको लुम्लेमा २५ जनाको ज्यान गएको छ भने भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार भदौरेतामागीमा गएको पहिरोमा परी ३ जना हराईरहेका र १४ जना घाईते भएका छन् । भदौरेतामागी गाविस वडा नं। ५ का १० घरमा पूर्ण र ३ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै, लुम्ले ६ माझघरमा गएको पहिरोमा पुरिएर ६ जना हराईरहेका छन् भने ३ जना घाईते भएका छन् । लुम्लेका १० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ज्ञानोदय प्राविको भवनमा पूर्णरुपमा क्षति पुगेको छ । पहिरोमा परी एकै परिवारका ६ जनाको ज्यान गएको छ भने आफन्त कहाँ पाहुना आएका समेत पुरिएका छन् ।

गाउँमाथि रहेको भीरबाट खसेको पहिरोले सुरुमा २० हजार लिटरको पानी ट्याङ्कीमा क्षति र्पुयाएको थियो । सुरुमा सानो जस्तो देखिएको पहिरोले पानी ट्याङ्कीलाई क्षति पुर्याएपछि नेपाली कांग्रेसका क्षेत्रीय सभापति आईबहादुर गुरुङको घरलाई बगाएको थियो ।

त्यसपछि गुरुङको भन्दा तल पर्ने १३ घर पूर्ण क्षति पुर्याएको पहिरो पोखरा बागलुङ राजमार्ग भन्दा पनि तलसम्म पुगेको छ । करिव ३ सय मिटरसम्म पहिरोले क्षति पुर्याएको छ ।

ज्यान जानेमा लुम्ले गाविस वडा नं। ६ का १० बर्षीय अर्जुन गुरुङ्ग, ७० बर्षीय रत्ना पौडेल, ८४ बर्षीय वसन्ती विक, ३२ बर्षीय चिजा विक, १४ बर्षीय सम्झना विक, १० बर्षीय सलिना विक, ९ बर्षीय सुनिल विक, २६ बर्षीय मञ्जु सुनार, उनकी ३ महिनाकी छोरी सिमा सुनार रहेका छन् ।

यसैगरी, ३२ बर्षीय सुन कुमारी जिसी र उनका छोराहरु १० बर्षीय सुगम जिसी तथा ५ बर्षीय संगम जिसी, ५६ बर्षीय छिरिङ शेर्पा, उनकी श्रीमती ३७ बर्षीय किशान्ती शेर्पा, अन्दाजी ७० बर्षीय खिमौरी विक र पदमी देवकोटा, ६० बर्षीय तिल कुमारी देवकोटा, २२ बर्षीय तुलसी देवकोटा र ६७ बर्षीय गुरुदत्त देवकोटाको पहिरोमा परी ज्यान गएको छ ।

यसैगरी, २५ बर्षीय पार्वती देवकोटा, ६ बर्षीय सविन देवकोटा, ९ बर्षीय सविता देवकोटा र ४७ बर्षीय लक्ष्मी देवकोटाको पनि ज्यान गएको छ ।

लुम्लेमा गएको पहिरोमा परी घाईते भएकी २० बर्षीय रीता देवकोटा, ८ महिनाका बालक बालक नितेश देवकोटा र १८ बर्षीय जुना सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । तीनै जनाको अवस्था मध्यम रहेको छ ।

सोही ठाउँकी ६८ बर्षीय इन्द्र प्रसाद देवकोटा, ६२ बर्षीय रुद्रवती देवकोटा, ६८ बर्षीय पद्मा देवकोटा, ७२ बर्षीय सियोधरी देवकोटा, ५ बर्षीय कविता शेर्पा र ५ महिनाकी शिशु अञ्जिला शेर्पा अझै पनि हराईरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।

यसैगरी, भदौरेतामागी गाविस वडा नं। ५ का ६५ बर्षीय टिकाराम विक, सोही ठाउँकी ५५ बर्षीय रामकुमारी विक, ३१ बर्षीय गौरी पराजुली, उनका ७ बर्षीय छोरा करण पराजुली र ६५ बर्षीय नन्दकली पराजुलीको पनि पहिरोमा परी मृत्यु भएको छ ।

पहिरोमा परी घाईते भएकी २७ बर्षीय शान्ति पराजुली, २८ बर्षीय विमला विक, ६ बर्षीय सविना पराजुली, २९ बर्षीय विनोद विक, ८ बर्षीय नम्रता पराजुली, ३० बर्षीय निरु पराजुली, ५० बर्षीय अञ्जनी पराजुली, ६२ बर्षीय तुलसी पराजुली, ६ बर्षीय खुशी विक, २८ बर्षीय कमल सुनार, २० बर्षीय अन्तिम सुनार, २१ बर्षीय सुस्मा सुनार, ३ बर्षीय सोनाम सुनार र ३२ बर्षीय माया पराजुलीको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

सोही ठाउँका ५ बर्षीय विश्व पराजुली, ७ बर्षीय समिर पराजुली र १० बर्षीय मन बहादुर सुनार अझै हराईरहेका छन् ।

यस्तै, ढिकुरपोखरी गाविस वडा नं। ९ ठूलाचौरमा गएको पहिरोमा परी १७ बर्षीय अस्मिता दाहाल र १९ बर्षीय प्रेमराज दाहालको ज्यान गएको छ । स्थानीय टोपली दाहालको घर पछाडीको ढिस्को भत्किँदा उनीहरुको ज्यान गएको हो । उनको घाईते अवस्थामा सकुशल उद्धार गरिएको छ । यसैगरी, कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता ईन्द्र पौडेलको सोही ठाउँमा रहेको घर पनि पहिरोले पुरेको छ ।

मृतक सबैको शव पोष्टमार्टमपछि, आफन्तलाई बुझाईसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । यसैबीच, बुधबार रातीको पहिरोको पोखराको मध्यभागबाट बग्ने सेती नदीमा बाढी आउँदा रामघाट क्षेत्र डुवानमा परेको छ ।

त्यहाँका करिब १ दर्जन घर डुवानमा परेका छन् । बर्षापछि बाढी आउँदा कास्कीकोटमा माझथुम सहकारी संस्थाले पालेका ९ सय वटा कुखुरा मरेका छन् । कास्कीकोटकै चिसापानीमा सही सहकारीले पालेका ८ वटा मा पोखरीका १४ हजार माछा बगेका छन् भने ढोट्नेखोलाका भिम प्रसाद सुवेदीले पालेका ३ वटा माछा पोखरीका २ लाख रुपैयाँ मूल्य बराबरका माछा बगेर नष्ट भएका छन् ।