माघे संक्रान्तिका लागि तरुलको कारोवार बढ्यो
13-January-2018


उमा आलेमगर
पोखरा, ३० पुस


पोहोरको तुलनामा यसवर्ष तरुलको भाउ महंगो भएको छ । यो वर्ष औसतमा १० देखि १५ प्रतिशत तरुलको भाउ बढेको हो । तर हिजो अस्ति भाउ बढेपनि आइतबारदेखि तरुलको भाउ घट्न थालेको पोखराको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । 

समितिका अध्यक्ष रुद्रप्रसाद खनालका अनुसार आइतबार तरुलको भाउ घटेको छ । हिजो अस्तिको तुलनामा २० प्रतिशतले तरुलको भाउ घटेको हो । माग अनुसारकै तरुल भित्रिएको र सोमबारका लागि धेरै कारोबार समेत भैसकेकोले भाउ घट्न थालेको हो । स्वदेशी उत्पादनले माग धान्ने हुँदा तरुलको कारोबारमा खासै समस्या नभएको उनले बताए । 

पोखरा लगायतका देशका धेरै ठाउँमा सर्लाहीको तरुलको कारोबार धेरै हुने गरेको छ । यस्तै नवलपरासी, चितवन पर्सालगायत जिल्लामा पनि तरुलको राम्रो उत्पादन हुने गरेको छ । यी क्षेत्रमा व्यवसायिक रुपमा नै  तरुल खेती हुने गरेको छ । सोमबार परेको संक्रान्तिका लागि भारतबाट पनि केही तरुलको आयात हुने गरेको छ । तर भारतबाट धेरै नआउने समितिले जनाएको छ ।

सोमबार परेको संक्रान्तिका लागि पोखरा लगायत देशभर तरुल, पिँडालु र सखरखण्डको कारोबार पनि बढेको छ । पोखराको बजारमा आइतबार भैँसेतरुल ४० देखि ६० रुपैया, वनतरुल २ सय ५० देखि ३ सयसम्म रुपैँया, घिउँतरुल ८० देखि ९० रुपैँया, सखरखण्ड ४० देखि ८० रुपैँया, रातो तरुल ६० देखि ८० रुपैँया र सेतो तरुल ४० देखि ६० रुपैँया, भारतीय तरुल किलोको ४५ देखि ५० रुपैयाँ, चितवनको तरुल ५५ देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । तर खुद्रा बजारमा भने भाउ महंगो पर्ने उपभोक्ताको गुनासो छ ।

Write a Comment

Events
Random Picks