गाडीको ठक्करबाट नेविसंघ कार्यकर्ताको मृत्यु भएपछि पोखरामा तनाव, प्रहरीले लाठी चार्ज गर्दा पत्रकार ढकाल घाइते
6-February-2018


उमा आलेमगर
पोखरा, २३ माघ

पोखरामा गाडीको ठक्करबाट नेविसंघका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ । क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएको थियो । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ वर्षीय ढकाल नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष हुन् । नेविसंघका नेता विधान लामिछानेले भने, ‘वोधराज जी कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएर र्मायो । अहिले स्थिति तनावग्रस्त छ ।’

तत्काल गण्डकी मेडिकल कलेजमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ढकाललाई मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।

क्याम्पसबाट टायरमा आगो बालेर विद्यार्थीले विद्युतको तारमा फाल्दा आगो लाग्ने सम्भावना बढेपछि विद्युत प्राधिकरणले बत्ति काटिदिएको छ । विद्यार्थीले हानेको सिसाले एक सुरक्षाकर्मीको निधारमा गम्भिर चोट लागेर घाइते भएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको छ । क्याम्पस आसपासका सम्पूर्ण पसल बन्द छन् भने परिस्थिति असहज भएको छ । प्रहरीले दाठी चार्ज गर्दा पत्रकार प्रकाश ढकाल घाइते भएका छन् । ढकालले आफु प्रत्रकार भएको पटक पटक जनाउदा पनि प्रहरीले चार्ज गरेको जानकारी दिए । ढकालको खुट्टामा चोट लागेको छ । उनी आदर्श समाज राष्ट्रिय दैनिक र डीएनए डटकममा कार्यरत रहेका छन् ।

 

Write a Comment

Events
Random Picks