रसुवागढी नाकामा आजदेखि एक महिनाका लागि कारोबार बन्द
12-February-2018


जकसन डटकम
रसुवा, ०१ फागुन

चीनसँगको व्यापारिक नाका रसुवागढीमा आजदेखि एक महिनाका लागि कारोबार बन्द हुने भएको छ । ल्होसारको कारण चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि कारोबार ठप्प हुन लागेको हो । ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी मंगलबार साँझसम्ममा नेपाल आइसक्ने छन् । व्यावसायिक कारोबार नभएपछि राजश्व संकलन प्रभावित हुने भएको छ । 

फागुन महिनामा ३० करोड राजश्व उठाउने लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाका अनुसार कारोबार नै ठप्प भएपछि लक्ष्य पूरा नहुने भएको छ । ‘कारोबार नभएपछि राजश्व उठ्दैन, वाङ्जोबाट आउने ट्रान्सर्पोट बन्द भए पनि अन्य ठाउँबाट सामग्री आउनसक्छ’, उहाँले भन्नुभयो, ‘यो महिनामा करिब २ करोड रुपैयाँ राजश्व उठ्ने सम्भावना छ ।’ चीनबाट नेपालमा आयात हुने रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्री आयात फागुन महिनाभरि नहुने अधिकृत कोइरलाले बताउनुभयो । 

कारोबार ठप्प हुने भए पनि दुवैतिरका भन्सार भने नियमित सञ्चालन हुने कार्यालयले जनाएको छ । चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

Write a Comment

Events
Random Picks