’भ्यालेन्टाइन डे’ मा पोखरामा ५० लाखको गुलाफ आयात
12-February-2018


उमा आलेमगर
पोखरा, ०१ फागुन


यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि पोखरामा भारतबाट रु ५० लाखको बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको तुलनामा यसवर्ष १५ प्रतिशतले माग बढेकाले केही थप आयात गर्न लागिएको हो । यसर्ष पोखरामा ५० हजारको हाराहारीमा रातो गुलाब आयात हुने । पोखरामा दैनिक ७ हजार गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाका अध्यक्ष दयाकुमार द्धाले जानकारी दिए । 

गत वर्षको प्रणय दिवसमा ३० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष २० हजार गुलाफ बढी आयात गर्न लागिएको हो । गत वर्ष उपभोक्ताले रु ५० देखि ६० तिरेका भए पनि भारतमा नै फूलको मूल्यमा वृद्धि भएकाले यसवर्ष प्रति स्टिक १ सय रुपैँया पर्ने द्धाको भनाइ छ । द्धाले भने, ‘जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो ।’ 

हाल काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ । हरेक वर्ष फेब्रुअरी १४ मा यो पर्व मनाउने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्दछ । तर कास्कीमा भने व्यवसायीक रुपमा गुलाफको खेती नगरिने हुदाँ बाहिर भर पर्नुपर्ने बाध्यता रहेको द्धाले बताए । प्रणय दिवसमा गुलाफको खरिद बिक्री बढी हुने भएकोले यहीँ व्यवसायीक रुपमा गुलाफको फुल लगाउन द्धाले कृषकलाई आग्रह गरेका छन् । त्यसको लागि आवश्यक पर्ने तालिम, जानकारी र सहयोग गर्न तयार रहेको उनले बताए । बाहिरबाट फुल मगाउन भन्दा स्थानिय उत्पादित फुल बिक्री वितरण गर्न सकेमा स्थानिय पैँसा नबाहिरिने उनको बुझाई छ । 

प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यात समेत हुने गरेको छ । नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फष्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङ लगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ । 

Write a Comment