‘लुम्बिनी रेल जोडिए चीनबाट वर्षमा २५ लाख पर्यटक’
24-February-2018

पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पोखरा अनतर्राष्ट्रिय विमानस्थल र चिनियाँ रेलमार्गजस्ता पर्याप्त भौतिक पूर्वाधार विकास हुने हो भने नेपालमा चिनियाँ पर्यटकको बाढी नै आउने देखिएको छ।

‘एक दशकअघि मात्र नेपालमा वार्षिक ३० देखि ३५ हजारको हाराहारीमा चिनियाँ पर्यटक नेपाल आउने गर्थे,’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी ‘यस वर्ष चिनियाँ नयाँ वर्षको छुट्टीमा मात्रै ४० हजार चिनियाँ पर्यटक आउने अपेक्षा छ।’

उनी अढाइ वर्षअघिको भुइँचालोको कारण केही कमी आएपनि चिनियाँ पर्यटक नेपाल भित्रिने दरमा पुन वृद्धि भएको बताउँछन्। उनका अनुसार वार्षिक २० देखि ३० प्रतिशतका दरले नेपालमा चिनियाँ पर्यटक बढिरहेका छन्।

यद्यपि नेपालमा पर्यटक आउने मुख्य राष्ट्र अझै भारत नै हो। भारतबाट गत वर्ष १ लाख ६० हजार पर्यटक आएका थिए भने चीनबाट १ लाख ४ हजार आएका थिए। जोशीले यस वर्ष भारतबाट १ लाख ७० हजार र चीनबाट १ लाख ३५ हजार पर्यटक आउने अपेक्षा गरेको बताए।

यद्यपि चिनियाँ पर्यटकको नेपाल आउने क्रम अझै राम्ररी सुरु नभइसकेको पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ बताउँछन्। पोखरामा चिनियाँ लगानीमा बनिरहेको विमानस्थल सञ्चालनमा आएपछि चाहिँ चिनियाँ पर्यटक नेपालमा ओइरिने उनको अनुमान छ।

अझ त्यसभन्दा बढी चिनियाँ रेल जोडिएपछि नेपालको पर्यटन क्षेत्रमा आमूल परिवर्तन हुने उनी बताउँछन्। गत वर्ष रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए। जोशीका अनुसार चिनियाँ रेल लुम्बिनीसँग जोड्न सके वार्षिक २५ लाख पर्यटक सजिलै नेपाल आउनेछन्।

गत वर्ष संसारभरबाट १० लाख पर्यटक नेपाल आएका थिए।

चिनियाँ पर्यटकहरुका बीचमा पोखरा गतिलो गन्तव्य बन्ने गरेको छ। पोखरामा प्याराग्लाइडिङ र अल्ट्रालाइट उडानका लागि उनीहरु त्यहाँ झुम्मिने गरेका छन्।

सन् २०१३ को चिनियाँ फिल्म ‘अप इन् विन्ड’ ले चिनियाँमाझ पोखरालाई अझ बढी परिचित गराएको कार्यकारी प्रमुख जोशी बताउँछन्।

चिनियाँ पर्यटनको एक मात्र समस्या भनेको विलासी पर्यटकको कमीका कारण व्यवसायीहरुलाई कम नाफा हुनु रहेको होटल सञ्चालक जुगेश श्रेष्ठ बताउँछन्। यद्यपि कारक समस्या नेपालमै रहेको उनको भनाइ छ।

‘हामीसँग विश्वस्तरीय लक्जरी होटल र रिसोर्टहरु छैनन्, त्यसैले धनी चिनियाँहरु नेपाल आउँदैनन्,’ पोखरामा सुपर–लक्जरी रिसोर्ट बनाइरहेका उनी भन्छन्, ‘चिनियाँ पर्यटकबाट हामी ठूलो पैसा त्यसबेला मात्रै कमाउन सक्छौँ, जुनबेला हामी त्यही स्तरको सेवा दिनसक्छौँ।’ 
एससिएमपी

Write a Comment