स्मार्ट बन्दै भेडेटारका होटल, बैंकिङ प्रणालीबाट पैसा तिर्न सकिने
28-February-2018

१७ फागुन,

धनकुटाको भेडेटारका होटलहरुमा बस्नुअघि खल्तिभरी पैसा बोकेर हिँड्नुपर्दैन केबल बैंकको एटिएम वा भिजा कार्ड बोके पुग्छ । किनकी यहाँका होटलहरुले स्मार्ट सेवा दिन थालेका छन् । र, पर्यटकीय होटल तथा ग्राहकबीचको कारोबार बैंकिङ प्रणालीबाट हुन्छ ।

यस्तो सेवा सुरु हुनुअघि आफूले बोकेको पैसाभन्दा धेरै बिल आएमा भेडेटारबाट धरान, धनकुटा पुगेर एटीएमबाट पैसा निकाल्नुपर्ने झन्झट थियो । अब त्यो बाध्यता हटेको छ ।

ग्राहकको सुविधाका लागि भेडेटारका पर्यटक क्लासका होटलहरुले बिलिङकालागि डेबिट र क्रेडिट कार्डबाट पनि पैसा तिर्ने व्यवस्था मिलाएका छन् । ग्राहकहरुले पैसा तिर्दा बैंकिङ प्रणालीबाट पनि गर्न सकुन् भनेर यस्तो सेवा ल्याइएको होटल सञ्चालकहरुले बताएका छन् ।

हाल एसबीआई र सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्डहरु होटलले लिन थालेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । एससीटी र भिजा कार्ड दुवैखाले ग्राहकको सेवामा यस्तो सुविधा ल्याइएको लावतीले जानकारी दिए ।

भेडेटारमा रहेका ४० मध्ये १७ वटा होटलहरुले हाल स्मार्ट सेवा दिइरहेका छन् । यो सेवा थप गर्न अन्य होटलहरु पनि जागरुक भएको होटल व्यवसायीहरु बताउँछन् । लावती भन्छन्, ‘होटलमा उठेको विलिङलाई बैंकिङ प्रविधिसँग जोडेर स्मार्ट सेवा दिएका छौं । यो सेवा धेरै राम्रोसँग रुचाइएको छ ।’

पोस मेसिन भनिने प्रविधि होटलमा जोडिएको छ जसबाट होटलमा बस्न जानुभन्दा अघि पैसा खल्तिमा बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।

नेपालबाहेक विदेशबाट आएका र बैंकिङ कारोबारबाट रकम तिर्न चाहनेलाई सजिलो होस् भन्नका लागि यस्तो सेवा सुरु गरिएको होटल एशोसिएसनका अध्यक्ष लावती बताउँछन् ।

होटलहरुले स्मार्ट बिलिङ गर्न थालेपछि ग्राहकको आर्थिक सुरक्षा र बैंकहरुको बित्तीय कारोबार बढेको छ

आर्थिक सुरक्षा

पोस मेसिनबाट सनराइज तथा एसबीआई बैंक मात्रै होइन जुनसुकै बैंकका भिजा र एससीटी कार्डहरु एसेप्ट हुन्छ । सनराइज र एसबीआई बैंकका भिजा र एससीटी कार्ड प्रयोग गर्दा बिलमा जति रकम उठेको छ, त्यतिमात्रै काटिन्छ । तर, यी दुई बाहेकका अरु बैंकका भिजा र एससीटी कार्ड प्रयोग गर्दा भने नियमअनुसार बिलमा उठेको बाहेक थप केही प्रतिशत रकम खाताबाट काटिन्छ ।

होटल लावती कर्नरका सञ्चालकसमेत रहेका होटल एशोसिएसनका अध्यक्ष लावतीले यसबारे थप स्पष्ट पार्दै भने, ‘मेरो होटलमा पाँच हजार माथिको बिलिङ पोस मेसिनबाट गर्दा दुई प्रतिशत पैसा मेरो तर्फबाट बैंकमा जान्छ । सनराइज बैंकको सिस्टम भएकाले मेरोमा दुई प्रतिशत काटिन्छ तर अन्य बैंकहरुमा त्योभन्दा बढी प्रतिशत पनि काटिन सक्छ ।’

होटलहरुले स्मार्ट बिलिङ गर्न थालेपछि ग्राहकको आर्थिक सुरक्षा र बैंकहरुको बित्तीय कारोबार बढेको अध्यक्ष लावती बताउँछन् ।

भारतीय र तेश्रो मुलुकका पर्यटक लक्षित सेवा

भेडेटारमा बढ्दो क्रममा रहेका भारतीय र तेश्रो मुलुकका ग्राहकको लागि स्मार्ट बिलिङ सिस्टम सुरु गरिएको होटल एशोसिएसन भेडेटारका संस्थापक अध्यक्ष विष्णु श्रेष्ठले बताए । ‘भेडेटारका होटलहरु र भेडेटारको पर्यटकीय आकर्षण अन्तर्राष्ट्रिय क्वालिटीको छ’, श्रेष्ठले भने, ‘आकर्षणसँगै होटलका सेवा सुविधाहरु बढाउन पनि यो सेवा सुरु गरिएको हो ।’

भेडेटारमा दैनिक औसतमा एक सय हाराहारी भारतीय पर्यटकहरु आउने व्यवसायीहरु बताउँछन् । भारतीय पर्यटककै सुविधामा भारतीय लगानीका एसबीआई र सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्डहरु राम्रो चलेको व्यवसायीहरुको भनाइ छ । भारत बाहेक तेश्रो मुलुकबाट नेपाली बैंकिङ कारोबार गर्ने आगन्तुकहरुलाई पनि यो सेवाले सुविधा दिएको होटल व्यवसायी बताउँछन् ।

स्रोत- अनलाइन खबर 

Write a Comment