यस्ताे बन्दैछ त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल
4-March-2018

विदेशका सुकिला विमानस्थलबाट उडेर काठमाडौं झर्ने जो कोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अव्यवस्थित, अस्तव्यस्त र झुर लाग्नसक्छ।

बेथितिका कुरै नगरौं। समस्या धेरै छन्। तर अब अन्तर्राष्ट्रिय विमानस्थलले भौतिक स्वरुप परिवर्तन गर्दैछ। अहिले जारी रहेका सुधारका तीन आयोजना पूरा भएपछि यो विमानस्थलले काँचुली नै फेर्नेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एसियाली विकास बैंक (एडिबी) को ८ करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहयोग एवं सरकारको १ करोड २० लाख डलर गरी ९ कराेड २० लाख डलर लगानीमा त्रिभुवन विमानस्थल सुधार परियोजना सञ्चालन भइरहेको हो।

उडड्यन प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तार तथा स्तरउन्नतिका लागि तीनैवटा योजना एकैसाथ अघि बढाइरहेको छ। तीन आयोजनाका लागि तीन फरक निर्माण कम्पनीले काम गरिरहेका छन्। प्राधिकरण प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठ अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम पूरा भएपछि यात्रुहरुले अहिलेको जस्तो सास्ती भोग्नु नपर्ने बताउँछन्।

अहिले धावनमार्ग विस्तार, नयाँ टर्मिनल भवन तथा ढल, फोहर व्यवस्थापन र खानेपानी सुविधा वृद्धि गर्ने काम भइरहेको हो।

विमानस्थलको धावनमार्ग विस्तार १४ नोभेम्बर २०१७ को मितिदेखि १८ महिनामा काम सक्नेगरी चाइना साञ्जी कन्ष्ट्रक्शन एण्ड इञ्जिनीयरिङले काम गरिरहेको छ। यसका लागि काम सम्पन्न गर्न १३ मे २०१९ को समयसीमा तोकिएको छ। चिनियाँ कम्पनीले ५६ करोड १८ लाख रुपैयाँमा सो ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्याल बताउँछन्।

चिनियाँ कम्पनीले काम सकेपछि दक्षिणपट्टि ३०० मिटर धावनमार्ग थप हुनेछ। ‘दक्षिण तर्फ धावन मार्ग विस्तार भएपछि ठूला जहाजहरु दुवै तर्फबाट उडान र अवतरण गर्न सहज हुनेछ’, प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने। परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलले ठूला आकार (वाइड बडी) जहाज व्यवस्थापन गर्न सहज हुनेछ।

विमानस्थल विस्तारका लागि एनसीबी ०२ कोर्ड अन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तारको काम पनि भइरहेको छ। १३ जनवरीदेखि सुरु भएको यो काम ठेकेदार कम्पनी शर्मा–प्रेरा आशषिले २१ महिनाभित्र पूरा गर्नुपर्नेछ। अर्थात् १२ जनवरी २०१९ मा काम सम्पन्न गरिसक्नुपर्नेछ।

टर्मिनल भवन

टर्मिनल विस्तारपछि प्रतिघण्टा २५ सय यात्रु आउन–जान सक्ने प्रवक्ता श्रेष्ठले नेपालखबरलाइ बताए। ‘अहिलेको अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता प्रतिघण्टा १३ सय मात्र छ। नयाँ टर्निमल निर्माणपछि त्यो झन्डै दोब्बर हुनेछ’, उनले भने। नयाँ टर्मिनल निर्माणपछि वार्षिक करिब ६० लाख हवाई यात्रु व्यवस्थापन गर्नसक्ने आँकलन गरिएको छ।

क्षमता १३ सय मात्र भए पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिक आवरमा २५ सय भन्दा बढी यात्रु हुने गरेका छन्। यात्रु चापका कारण विमानस्थल अस्तव्यस्त हुनेगर्छ। अहिले सञ्चालनमा रहेको अन्तिर्राष्ट्रिय टर्मिनल २८ वर्ष पुरानो हो। यो सन् १९९० मा निर्माण गरिएको थियो।

प्राधिकरणले एनसीबी ०३ कोर्ड अन्तर्गत ढल, फोहर व्यवस्थापन र खानेपानी सुविधा वृद्धि गर्ने काम अघि बढाइरहेको छ। सो कामको ठेक्का आशिष एण्ड प्रेराले कम्पनीले नै पाएका छन्।

‘यी कार्य सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ’, प्रवक्ता श्रेष्ठ भन्छन्।

यसअघि विमानस्थल विस्तारको ठेक्का स्पेनिस निर्माण कम्पनी साञ्जोसेले पाएको थियो। समयमा काम नसक्दा सरकारले १३ मंसिर २०७३ मा साञ्जोसेसँगको ठेक्का तोड्दै नयाँ टेन्डर आह्वान गरेको थियो। सान्जोसेले अन्तर्राष्ट्रिय एप्रोन, पार्किङ बे, ट्याक्सी वे विस्तार, धावनमार्गको उत्तरतर्फ गुहेश्वरीपट्टिको खाल्डोमा माटो भर्ने, अन्तर्राष्ट्रिय पार्किङ बे निर्माण गर्ने, दक्षिणतर्फ कोटेश्वरपट्टि ३ सय मिटर धावनमार्ग विस्तार गर्नेलगायत काम गर्ने ठेक्का पाएको थियो। दुई वर्षभित्र काम पूरागर्ने टेण्डर पाए पनि सो अवधिमा सान्जोसेले १६.५ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो।

त्रिभुवन विमानस्थलमा हाल १५ देशबाट ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन्। तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन्। आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन्। विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ। राति साढे १२ बजे बन्द हुनेगर्छ।

नेपाल खबर बाट साभार 

Write a Comment

Events
Random Picks