रगत चेकजाँच नगरी विवाह नगर्नुस : एड्स संक्रमित
3-April-2018

कविता उपाध्याय

प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन्।

विवाहपूर्व होस् वा विवाहपश्चात्ए, एड्स संक्रमित बनेका श्रीमानका कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नु परेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन्। ‘हामीले त श्रीमान्का कारण सजाय पायौं’ उनीहरुले एउटै आवाजमा भने, ‘तर तपाइँहरु शुरुमै सचेत बन्नुपर्छ।’

रोल्पा नगरपालिकाकी २५ वर्षीया युवती श्रीमानका कारण एचआइभी एड्स संक्रमित बनेकी छन्। परिवारकै मन्जुरीमा उनको विवाह भएको थियो। ‘रोजगारीका शिलशिलामा भारतमा बस्दै आएका युवासँग विवाह गरिदिए छोरीले सुख पाउली भनेर बाआमाले दिनुभयो’ उनले आफूमाथि परेको बज्रपात सुनाइन्, ‘तर विवाह भएको केही वर्षपछि ममा पनि एचआइभी संक्रमण देखियो, हाल म पनि संक्रमित भएर बाँचिरहेकी छु,।’

मैले भेटेकी फगाम, रोल्पाकी ३९ वर्षीया अर्की महिलाको अवस्थापनि त्यो भन्दा फरक थिएन। उनलाई पनि श्रीमानकै कारण एचआइभी एड्स संक्रमित भएको थियो। तीन महिलाको गर्भबाट जन्मिएका दुई सन्तानसमेत एचआइभी एड्सको शिकार बनिसकेका छन्। केही वर्ष पहिले श्रीमान्को निधन भएपछि त यो परिवारलाई जीवन धान्न नै हम्मेहम्मे पर्दै आएको छ।

यस्तै, माडी गाउँपालिकाको बुढा (मगर) परिवारकी ३८ वर्षीया एक महिलालाई गएको माघ महिनामा सुत्केरी हुने क्रममा रगत जाँचका क्रममा एचआइभी एड्स संक्रमण देखियो। संक्रमण देखिएपछि श्रीमानको पनि रगत चेकजाँच भयो, परीक्षणबाट देखियो, श्रीमानलाई पनि एचआइभी एड्स संक्रमित भएको रहेछ।

त्यतिमात्र होइन ती महिलाको गर्भबाट जन्मिएको नवजात शिशुमा पनि एचआइभी एड्स संक्रमण देखिएको छ। सिंगो परिवार नै एचआइभी एड्सको शिकार बनेर बाँचिरहेको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवकसँग एक बर्षअघि सुखी जीवन बिताउने सुन्दर सपना देखेर विवाह बन्धनमा बाँधिएकी बुढालाई श्रीमानका कारण आफू र आफ्नो सन्तानसमेत एचआइभी एड्स संक्रमण बन्नुपरेपछि नैराश्यता उत्पन्न हुनेमात्र होइन, जीवनदेखि नै घृणा लाग्न थालेको छ।

ती महिला आफैमा निर्दोष छिन्। तरपनि संक्रमित भएकै कारण समाजमा तिरस्कृत भएर बाँच्नु परेको छ। ‘समाजले छिःछिः दुरदुर गर्दा मन रुन्छ । श्रीमान्का कारण आज समाजमा शिर झुकाएर बाँच्नुपर्ने दिन आयो’ आँशुका धारा बगाउँदै तिनले भनिन्, ‘निर्दोष हुँदाहुँदै पनि समाजबाट तिरस्कृत भएर बाँच्नु पर्दाको पीडा सायद अन्य व्यक्तिले अनूभूतिसम्म गर्न सक्दैनन् होला।’

यसरी आफू गलत चरित्रको नहुँदानहुँदै र परपुरुषसँग शारीरिक सम्पर्कमा नजाँदा नजाँदै पनि एचआइभी एड्स संक्रमित भएर बाँच्नुपरेको पीडा यी महिलाहरुमा छ। त्यसैले, बुढा बताउँछिन्, ‘अबका दिनमा विवाह बन्धनमा बाँधिन चाहने सबै युवायुवतीले विवाहपूर्व वा शारीरिक सम्पर्कमा जानु अगाडि प्रवासीमा एचआइभी एड्स संक्रमण भए नभएको पत्ता लगाउन रगत जाँच गरेरमात्र विवाह गर्न मेरो सुझाव छ।’

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा यी जोडीमा मात्र होइन, विवाह पछि वा विवाह अघि गरेर हालसम्म करीब २७ जना महिलामा श्रीमानका कारण एचआइभी एड्स संक्रमण देखिएको छ। यसैगरी, जिल्लामा करीब छ जोडीबाट जन्मिएका सन्तानमा एचआइभी संक्रमित भएको तथ्य बाहिर आइसकेको छ।

स्थानीय व्यापारी रीता देवकोटा भन्छिन्, ‘अविवाहित युवा तथा बाँकी जिन्दगी सुन्दर बनाउने सपना देखाएर विदेशिएका श्रीमान् एचआइभी एड्स संक्रमित भएर घर फर्कनु र यस्को असर श्रीमती वा छोराछोरीमा पर्न जानुले पनि पछिल्लो पुस्तालाई सचेत बन्न जरुरी देखिन्छ।’

देवकोटा के भन्छिन् भने, श्रीमानको कुकर्मको सजाय श्रीमती वा सन्तानले पाउनुभन्दा पहिले वा प्रवासीसँग शारीरिक सम्पर्कमा रहनुभन्दा पहिले रगत चेकजाँच गर्नसके पनि एचआइभी एड्सको संक्रमणबाट बच्न सकिन्छ। सबै युवायुवती तथा प्रवासीका श्रीमान् श्रीमतीसमेत सचेत बन्न उनले सुझाव दिएकी छन्।

नेपाल खबर बाट साभार 

Write a Comment

Events
Random Picks