प्रदेशस्तरमा विज्ञान तथा प्रविधि प्रतिष्ठान बनाउने तयारी
7-February-2019

जक्सन डटकम

पाेखरा २४ माघ

गण्डकी प्रदेशमा विज्ञान तथा प्रविधि प्रतिष्ठान गठन गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशले यस आर्थिक बर्षका लागि ल्याएको निति, कार्यक्रम तथा बजेटमा प्रतिष्ठान गठन गर्न सम्भाव्यता अध्ययन गर्ने भन्दै १ करोड बजेट विनियोजन गरेको थियो । 

प्रतिष्ठान गठन गर्नका लागि पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा मंगलबार विज्ञान विषयका प्राध्यापकहरुसँग अन्तक्र्रिया भएको थियो । पोखरामा रहेको बन क्याम्पस, पोखरा विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसका प्राध्यापकहरु सहभागी रहने गरी ११ सदस्यिय निति तर्जुमा समिति गठन गरेको छ । 

समितिको संयोजकमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठाना (नाष्ट)का वैज्ञानिक डा. किशोर पाण्डे संयोजक रहेका छन् । समितिका सदस्यहरुमा राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महाविर पुन, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. अक्कलदेव मिश्र, डा. कपिल अधिकारी, निर्मला बराल, विकास अधिकारी र प्रदेशको बन अधिकृत पुष्पराज आचार्य सदस्य रहेका छन् । 

समितिमा दुई जना महिला र दुई जना विज्ञ पछि थप्ने गरी निर्णय भएको वन मन्त्रालयका अधिकृत आचार्यले जानकारी दिए । समितिलाई दुई साताभित्र प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको खाका, निति र कानुनी प्रावधान बारे प्रतिवेदन दिन कार्यादेश दिएको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए । 

मन्त्री लम्सालले प्रदेश सरकारले पृथ्वीनारायण क्याम्पसको हाताभित्रै यो प्रतिष्ठान स्थापना गर्न चाहेको बताए । विज्ञान र प्रविधिको प्रयोग मार्फत नागरिकको दैनिक काम सजिलो बनाउन, विद्यालयमा विज्ञान र प्रविधिका बारेमा शौक्षिक सामाग्री तयार पार्न र प्रदेशको विज्ञान सम्बन्धी अनुसन्धानमा सघाउन पु¥याउन प्रतिष्ठानले भुमिका खेल्ने अपेक्षा गरेको बताए । 

सरकारले प्रतिष्ठान निर्माणका लागि यस बर्ष ८५ लाख खर्च गर्ने जनाएको छ । प्रतिष्ठान स्थापना भएपछि आगामी बर्षदेखि पर्याप्त बजेटको व्यवस्था गर्ने समेत मन्त्री लम्सालले प्रतिबद्धता जनाए । 

पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले प्रतिष्ठान स्थापनाका लागि क्याम्पसले सहयोग गर्न तत्पर रहेको बताए । उनले प्रदेशमा भएको अनुसन्धानलाई व्यवस्थित र एकिकृत गर्नका लागि पनि प्रतिष्ठानले सघाउ पु¥याउने विश्वास लिएका छन् ।

महिला प्रतिनिधित्वलाई लिएर तनाव 
प्रतिष्ठान गठन सम्बन्धी छलफलमा सहभागी सबै पुरुष मात्र भएको भन्दै लेखक सावित्री गौतमले आपत्ती जनाइन् । पृथ्वीनारायण क्याम्पस, बन क्याम्पस, पोखरा विश्वविद्यालय लगायत धेरै कलेजहरुमा र कलेज बाहिर समेत महिला प्राध्यापकहरु रहेको भन्दै उनले छलफलमा बोलाउँदा नै महिलालाई उपेक्षा गरेको आरोप लगाइन् । 

त्यसपछि केही सहभागीहरुले महिला पुरुष भन्दा पनि काम गर्ने मान्छे चाहिने तर्क गरेपछि गौतमले भनिन्, ‘यो देशमा कसले काम गरेको छ हामीलाई पनि थाहा छ,’ भन्दै जवाफ फर्काउन थालेपछि मन्त्री लम्सालले महिलाको प्रतिनिधित्व गराउने भनेपछि साम्य भएको थियो । 

समिति गठन गर्दा महिला सदस्य को रहने भनेर विवाद भएको थियो । ‘छलफलमै नबोलाइएका महिलालाई यत्तिकै नाम राख्न मिल्दैन, गौतमले भनिन्, विज्ञान विषयमा पुरुष सरह काम गर्न सक्ने धेरै महिला पोखरामा छन्, आँफै खोज्नुस् ।’

त्यसपछि मात्र समितिमा २ जना महिला राख्ने समिति गठन भएको थियो । 

 

Write a Comment

Events
Random Picks