हुवावेको स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने
26-May-2019


काठमाडौं, जेठ १२ 

चिनियाँ दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेमाथि अमेरिकाको प्रतिबन्धको प्रभाव बढ्दै गएको छ ।

अमेरिकी प्रतिबन्धको असर फैलिने क्रममा एसडी कार्ड एसोसिएसनमा रहेको हुवावेको सदस्यता पनि खोसिएको छ । एसडी कार्ड संघको सदस्यता खारेज भएसँगै अब हुवावेले आफ्ना स्मार्टफोनमा एसडी कार्ड घुसार्ने स्लट बनाउन पाउने छैन ।पछिल्लो निर्णयसँगै हुवावेका मौजुदा फोनहरुले एसडी कार्ड सपोर्ट गरे तापनि कम्पनीले आगामी दिनमा आफ्ना उत्पादनहरुमा एसडी कार्डको प्रयोग गर्न पाउने छैन ।

एसडी कार्ड एसोसिएसनका अलावा अन्य कैयन् कम्पनीहरुले पनि हुवावेको साथ छोडेका छन् । यसअघि गुगल, एआरम, इन्टेल, क्वालकोम तथा ब्रोडकम जस्ता कम्पनीले पनि हुवावेको साथ छोडिसकेका छन् ।

अमेरिकी प्रतिबन्धसँगै कम्पनीहरुले हुवावेसँगको सहकार्य तोड्दै जान थालेका छन् । वाइफाइ अलायन्सले समेत हुवावेलाई अस्थायी रुपमा बन्देज लगाएको छ ।

हुवावेले कस्तो मेमोरी कार्ड प्रयोग गर्ला ?

एसडी कार्ड एसोसिएसनले साथ छोड्न हुवावेका लागि ठूलो झट्का हो । तर प्राविधिक रुपमा हुवावेका लागि यो ठूलो समस्या चाहिँ हुनेछैन ।

किनकी हुवावेसँग आफ्नै नानो मेमोरी कार्डहरु छन् जो विद्यमान मेमोरी कार्डको तुलनामा निकै सानो आकारका रहेका छन् । तिनै नानो मेमोरी कार्डहरु हुवावेले आफ्ना नयाँ स्मार्टफोनमा प्रयोग गर्नेछ ।

यस्ता नानो मेमोरी कार्डलाई हुवावेले सबैभन्दा पहिले मेट २० स्मार्टफोन लञ्च गर्ने बेला सार्वजनिक गरेको थियो । आगामी स्मार्टफोनमा त्यो नानो मेमोरी कार्ड प्रयोग हुने अपेक्षा गरिएको छ ।

-एजेन्सीको सहयोगमा

Write a Comment

Events
Random Picks