घटस्थापनादेखि पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुँदै
9-October-2018

जक्सन डटकम
पोखरा, असोज २३

विगतको वर्षमा जस्तै यस वर्ष पनि घटस्थापनाको दिनदेखि पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव गरिने भएको छ ।

घटस्थापनाको दिनदेखि महोत्सव शुरु हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्धारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवअन्तरगत घटस्थापनाको दिनमा विन्ध्यवासिनी देवीका ९ रुपको स्वरुप नवकन्याका ९ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकीसहितको शोभायात्रा निकालिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रसेवक कर्मचारीहरु, जातिय, सामाजिक, धार्मिक, सांस्कृतिक र वित्तीय संघसंस्थाहरुसहितको श्रद्धालु भक्तजनहरुको व्यापक सहिभागितामा निकालिने शोभायात्राले पोखरा नगरको विभिन्न भाग परिक्रमा गरेर विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा पुगेर समापन हुने जनाइएको छ ।

शोभायात्रामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा प्रमुख अतिथि रहनेछन् । महोत्सवको अर्को अंगका रुपमा घटस्थापनादेखि नवमीसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ हुनेछ । महायज्ञमा विन्ध्यवासिनी गुरुकुलका पूर्व विद्यार्थी युवा पण्डित श्री निजानन्द पौडेलले वाचन र झाँकीसहितको प्रवचन गर्नेछन् ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव सम्पन्न गर्न २८ वटा उपसमिति र गण्डकी प्रदेशका प्रमुख सचिव तथा क्षेत्रीय प्रशासक लक्ष्मीराम शर्माको अध्यक्षतामा सल्लाहकार समितिसमेत गठन गरिएको छ ।

विन्ध्यवासिनी मन्दिर पुजारीको करारमा नियुक्ति पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले जनाएका छन् । दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको सचिव श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र उपहार समितिमा आउने भएको छ । मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरेपनि विभिन्न प्रमाणसमेतका आधारमा विसं १८४० तिर यसको निर्माण भएको हुनसक्ने अनुमान गरिएको श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘प्राप्त प्रमाणका आधारमा मन्दिरको पहिलो पुजारी भगिरथ पाध्या पौडेल हुनुहुन्छ ।

विसं १९४१ म पाल्पाका चिन्तामणि बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तति महिधर पाध्या पौडेलले पुजारीमा आफूहरूको हकदावी हुनुपर्ने मागसहित मुद्दा हालेपछि कास्कीका तत्कालीन राजाले पौडेल सन्ततिलाई नै पूजाआजाको जिम्मा दिएको पाइन्छ ।’ सर्वोच्चमा पुजारीको मुद्दादेखि ८ बुँदे सहमतिसम्म समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यस वर्षदेखि परम्परागतरुपमा पूजा गर्दै आएका पुजारीलाई विस्थापन गर्दै करारमा पुजारी नियुक्ति गरिएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार विसं २०७२ कात्तिक २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भेटीघाटी व्यवस्थापनसम्बन्धी निर्देशिका जारी भएपछि समिति त्यसअनुरुपअघि बढेसँगै पुजारी परिवारका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गनुपर्ने नदेखिएको भनेपछि पुजारी समितिसँग वार्तामा आएका थिए । वार्तामा दुवै पक्षबीच करार सेवामा जाने लगायतका आठ बुँदे सहमति भएको र त्यहीअनुरुप यस वर्षदेखि करार सेवामा पुजारी राखिएको समितिले जनाएको छ ।

मन्दिरमा यसअघि पाँच पुजारीले नियमित पूजाआजा गर्दै आएकामा हाल करारमा नियुक्त दुई जनाले उक्त कार्यलाई निरन्तरता दिएका छन् भने अन्य तीन बिदा भएका छन् । पारिवारिकरुपमा २३५ वर्षसम्म नियमित पूजाआजा गर्दै आएको योगदान समेतलाई दृष्टिगत गरी तीन जनालाई जनही रु नौ÷नौ लाखसहित समितिले बिदा दिइएको हो ।

बिदा हुने पुजारीहरुमा माधवप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा र सुशील पौडेल छन् । समितिले मूल पुजारी रुद्रनाथ पौडेललाई रु ३५ हजार र अर्का पुजारी श्रीराम पौडेललाई रु ३० हजार पारिश्रमिक तोकेको छ ।

Write a Comment

Events
Random Picks