सन्दिपको टोलीको लगातार हार, धनगढीसँग ७८ रनले पराजित
28-October-2018


जक्सन डटकम
पोखरा, कार्तिक ११

सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले लगातार दोस्रो फराकिलो हार ब्यहोरेको छ।

धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा अलआउट हुँदै १०४ रनमा समेटियो।

विराटनगरका लागि सुनिल धमलाले २१, मोहम्मद जाइदले १९ एन्ड्यु सुविकासनले १८ तथा सन्दिप लामिछानेले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्। धनगढीका लागि ड्यानियल लरेन्सले तीन तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।

यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८२ रनको बनाएको हो। मध्यम शुरुवात गरेको धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय इनिङ खेले। ३८ बल खेलेका पिटरले ४ छक्का र २ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए।

धनगढीले ८ रन जोड्दा पहिलो विकेटको रुपमा ड्यानियल लरेन्सलाई २ रनमा गुमाएको थियो । त्यसपछि सन्दीप सुनार ९ रनमा पभेलियन फर्कदा टिमले जम्मा १३ रन जोडेको थियो । दीलिपनाथ ८ रनमा आउट हुँदा टिमले ३८ रन जोडेको थियो ।

त्यसपछि कप्तान ऐरी र पिटरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए। सन्दीप जोरा १२ रनमा आउट भए। रोविन क्षेत्रीले १० रन बनाए । योगेन्द्रसिंह कार्कीले ६ रन बनाए। मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए ।

सौरभ खनालले अन्तिम बलमा क्याचआउट हुनुअघि १३ बलमा ४१ रन जोडे । उनले १३ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गरेका थिए। विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १ विकेट लिए।

योसँगै धनगढीले प्रतियोगितामा पहिलो जित निकालेको छ। यसअघि पहिलो खेलमा धनगढी ब्लुज हुलास काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो ।

यता पहिले खेलमा पोखरा पल्टनसँग ५८ रनले पराजित भएको विराटनगर लगातार दोस्रो पराजयसँगै समूहको पुछारमा पुगेको छ।

Write a Comment

Events
Random Picks