पश्चिमाञ्चल होटल संघ पोखराले तिहारमा भाइटिका महोत्सव गर्ने
3-November-2018


जक्सन डटकम
पोखरा,कात्तिक १७   
पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा यही कात्तिक २३ गते भाइटिका महोत्सव आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गर्न लागिएको हो । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्धन गर्ने उद्धेश्य महोत्सवले लिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । 

स्वदेशी तथा  विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको उनले जनाए ।  नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, द्यौसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको छ ।

गत बर्षको ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका थिए । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहोर्याएर समेत टिका लगाउन पोखरा आउन थालेका छन् । भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको छ । 

महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भइसकेको महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् । लेकसाइड स्थित होटल लेण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउन सकिने संस्थाले जनाएको छ । होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महोत्सवमा आफ्ना पर्यटकीय प्रतिष्ठानका पर्यटकलाई कार्यक्रममा सहभागीता गराइदिन समेत संघले सम्बन्धित सबैमा आव्हान गरेको छ । अपरान्ह साडे दुई बजे सुरु हुने कार्यक्रममा सहभागिता लागि संघले संचारकर्मीलाई समेत अनुरोध गरेको छ । 

Write a Comment

Events
Random Picks