पोखरा रंगशाला अभ्यासस्थलमा सीमित, हुनै छाडे प्रतियोगिता
4-November-2018


स्थानीयको प्रश्न–रंगशाला किन भत्काएको ? भत्काएपछि किन नबनाएको ? 

अजय फुयाल  
कार्तिक १८, पोखरा । 

अर्जुनबहादुर घले ८३ वर्ष टेकिसके । जवानीमा भारतीय सेनामा सेवा गरेका घले सेवानिवृत्त भएपछि स्याङ्जाको दुर्गम गाउँबाट सपरिवार पोखरा सरे । रामबजारमा स्थायी बसोवास थालेयताका चार दशकभन्दा लामो समयदेखि घले पोखरा रंगशालाका नियमित आगन्तुक हुन् । 

उनीमात्र होइन– रामबजार, बसपार्क र बुद्ध चोक वरिपरिका प्रौढहरुका लागि जाडो महिनामा घाम ताप्दै समय बिताउने थलो हो, पोखरा रंगशाला । त्यहाँ पुगेपछि जवानीको वीरताका कथा आफूजस्तैसँग सम्झिएर रोमाञ्चित हुन पाइन्छ । व्यस्त जीवनशैलीका कारण आफ्नै परिवारजनबाट समय नपाउँदाको दिग्दारी समकालिनहरुसँगको जमघटले बिर्साउँछ । फौजी जीवनमा हुँदा खेलकुदमा सक्रिय भएकाहरुलाई प्रौढ अवस्थामा आफ्नो खुट्टाले काम नगर्दा युवाहरुको खेल कौशलबाट मज्जा लिन पनि रंगशाला राम्रो थलो हुने गरेको थियो । तर, गतवर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नयाँ बनाउने भनेर पोखरा रंगशालाको प्यारापिट भत्काएपछि त्यो ठाउसँग फुटबलको सम्बन्धविच्छेदजस्तै भएको छ । नेपाली राष्ट्रिय टोलीलाई पूर्वकप्तान अनिल गुरुङ, वसन्त गौचन, विशन गौचनजस्ता सुपरस्टार खेलाडी दिएको पोखरा रंगशाला राखेपले भत्काएपछि अहिले बेलायती सेनामा जान चाहने युवाहरुको अभ्यासस्थलमा सीमित भएको छ ।


“उमेरमा हामी पनि खेल्थ्यौं । फौजमा लडाइँ नहुँदा काम नै ट्रेनिङ गर्ने र फुटबल खेल्ने हुन्थ्यो । अहिले बूढो भइयो, तैपनि नानीहरुले खेलेको हेर्न रमाइलो लाग्छ,” आफ्नै उमेरका केही वृद्धहरुसँग घाम ताप्दै गफिइरहेको अवस्थामा भेटिएका घलेले बाह्रखरीसँग भने, “खोइ बाबु अहिले त यहाँ पनि खेल हुनै छोड्यो । छँदाखाँदाको रंगशाला कुन्नी केजातिले भत्काए । तुरुन्तै बनाउने भन्थे । एक वर्ष भइसक्यो, बनाउने कुनै छेकछन्द छैन । नबनाउनेले किन भत्काएका हुन् कुन्नि । उमेरमा नानीहरु लागु औषधमा लाग्न सक्छन् । अरु नराम्रो बानी लिन सक्छन् । फुटबलले त्यसबाट जोगाउँथ्यो । पोखराको मात्र नभई देशकै नाम विदेशमा फैलाउँथ्यो । बनाउने बेला नहुन्जेलसम्म पुरानो नभत्काएको भए हुन्थ्यो । नानीहरुले खेल्न पाउँथे, हामी हेर्न पाउँथ्यौं ।”

घले र उनका साथीहरु पोखरामा नियमित हुने राष्ट्रिय स्तरको आहा–रारा गोल्डकपका पनि नियमित दर्शक हुन् । टिकट काटेरै वर्षौंदेखि आहा–रारा गोल्डकप हेर्दै आएका घले भन्छन्, “पोहोर, परार एक–दुई वर्ष मनकामना कप फुटबल पनि भयो । त्यो पनि हेर्यौं । रमाइलो हुन्थ्यो । पोहोर आहा गोल्डकप हुने बेलामा भत्कायो । त्यसपछि टिकट पाउनै गाह्रो भयो ।”


लाहुरे बाहुल्यको बस्ती भएका कारण पोखरामा खेलकुदको समृद्ध संस्कार छ । अझ फुटबल पोखराको पहिलो रोजाइको खेल हो । कास्की र वरपरका तनहुँ, लमजुङ, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीबाट भारतीय र बेलायती सेनामा लाहुरे हुनेमध्ये अधिकांशको पहिलो लक्ष्य पोखरामा बसाइँ सर्ने हुने गर्छ । सेनामा हुँदा फुटबल खेलेका वा हेरेका त्यस्तै लाहुरे बाहुल्यको बस्ती भएकाले फुटबल पोखराको पर्यायजस्तै हो ।

जवानीमा खेलेको र हेरेको खेलप्रति यहाँका वृद्धहरुमा अहिले पनि मोह उत्तिकै छ । त्यसैले घलेहरु रंगशालामा कोही फुटबल र खेलकुदका पदाधिकारी भेट्यो कि सोधिहाल्छन्, “रंगशाला किन भत्काएको ? भत्काएपछि किन नबनाएको ? कहिले बन्छ ? फुटबल  प्रतियोगिता कहिले हुन्छ ?”


पाका उमेरका हजुरबाहरुबाट यस्तो प्रश्न बारम्बार सामना गर्नेमध्येका एक हुन्, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ । तर उनलाई पनि थाहा छैन, छँदाखादाको प्यारापिट किन भत्काएको भनेर । नेपालले आयोजना गर्ने भनिएको १३औं दक्षिण एसियाली खेलकुदको बहानामा एक वर्षभित्र बनाइसक्ने भनिएको आधुनिक र ठूलो दर्शक क्षमताको रंगशाला निर्माणको काम किन सुरु भएन, कहिले सुरु हुन्छ भन्ने पनि उनलाई पत्तो छैन । 

पोखरामा २०५८ सालदेखि अनाथ, असहाय, आर्थिक रुपमा विपन्न तथा सडक बालकहरुका लागि सुविधासम्पन्न फुटबल एकेडेमी चलाइरहेको सहारा क्लबका पदाधिकारीलाई पनि यस विषयमा कुनै जानकारी छैन । अनिल गुरुङलगायत दर्जनौं खेलाडी उत्पादन गरिसकेको त्यही एकेडेमीको सहयोगार्थ १७ वर्षदेखि नियमित ‘ए’ डिभिजन स्तरको फुटबल प्रतियोगिता गरिरहेको सहारा पोखरा रंगशालाको विषयमा कुहिराको कागजस्तै छ ।

गतवर्ष आहा–रारा गोल्डकप सुरु हुन केही दिनअघिमात्र क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले माथिको आदेश भन्दै प्यारापिट भत्काउन सुरु गरेका थिए । सहारा र कास्की जिल्ला फुटबल संघका पदाधिकारीले जिल्ला, क्षेत्र र केन्द्रमा समेत भत्काउने काम केही दिन पछि सार्न गरेको अनुरोधलाई लत्याउँदै प्रतियोगिता नै प्रभावित हुने गरी प्यारापिट भत्काइएको थियो ।


“सहाराको प्रतियोगिता हुन लागेको थियो । हामीले केही दिनपछि भत्काउनुस् भनेर कुरा राख्यौंं । उहाँहरुले माथिको आदेश भन्नुभयो । राखेपका सदस्यसचिव केशवकुमार विष्टसँग पनि कुरा गर्यौं । क्षेखेविसंका अध्यक्ष खगराज पौडेल र सदस्यसचिव विष्टले आहा गोल्डकपअघि भत्काउन नपाए आकाश नै खस्छ जस्तो गरेर तुरुन्तै भत्काउनुपर्छ भन्नुभयो । ९ महिनामा नयाँ बनाइसक्ने भन्नुभयो,” कास्की जिल्ला फुटबल संघका अध्यक्ष गुरुङ भन्छन्, “हामीले अर्को वर्षदेखि झन् राम्रो र ठूलो रंगशालामा खेलाउन पाइन्छ भने एक पटक प्यारापिट नभए पनि प्रतियोगिता गर्ने भनेर मान्यौं । तर अर्को संस्करण गर्ने बेला भइसक्यो, अहिलेसम्म बनाउन सुरु पनि गरेको छैन । पैसा आउने इँटा र छड बेच्नुबाहेक भत्काएको अरु भग्नावशेष पनि पन्छाएको छैन ।”


समर्थकहरुले रंगशाला निर्माणबारे नियमित रुपमा चासो राख्ने गरेको भए पनि आफू त्यस विषयमा पूर्ण रुपमा अनभिज्ञ रहेको उनको भनाइ थियो । आउँदो माघ महिनामा जिल्ला फुटबल संघको मनकामना केबुलकार फुटबल प्रतियोगिता तथा सहाराको आहा गोल्डकप आयोजना गर्ने योजना छ । संयोगले केन्द्र सरकारका युवा तथा खेलकुदमन्त्री कास्की जिल्लाकै जगतबहादुर विश्वकर्मा छन् । त्यसैले कास्की जिल्ला फुटबल संघ र सहारा क्लबका पदाधिकारीले रंगशाला निर्माणको काम तत्काल थाल्न मन्त्री विश्वकर्माका साथै नेपाली खेलकुदका कार्यकारी प्रमुख राखेप सदस्यसचिव विष्टलाई थुप्रै पटक अनुरोध गरिसके । 


“पहिला भत्काउने बेला ९ महिनाभित्र बनाइसक्ने भन्थे । पछि असोजमा सुरु गर्ने भन्न थाले । सरकारले रंगशाला निर्माणका लागि भनेर ५३ करोड रुपैयाँ छुट्याएपछि दुई पटक टेण्डर आह्वान पनि भए । दुवै पटक प्रक्रिया मिलेन भनेर काम भएको छैन,” आहा गोल्डकपको आयोजक सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले आक्रोश पोखे, “भत्काउन सबै तुरुन्तै मिल्ने, बनाउन चाहिँ नमिल्ने कस्तो प्रक्रिया हो, मैले बुझ्न सकेको छैन । यो पोखरेली खेलप्रेमीका लागि दुःखको कुरा हो । जतिसक्दो छिटो बनाउनुपर्यो ।”

जिखेविसका अध्यक्ष याम गुरुङ र क्षेखेविसका अध्यक्ष पौडेल बिदेसिएपछि कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका सम्पन्न श्रेष्ठ दुवै रंगशाला पुनर्निर्माणको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताउँछन् । “यो हाम्रो क्षेत्राधिकारको कुरा होइन । भत्काउने देखि बनाउनेसम्मको सबै काम केन्द्रले गरिरहेको छ । हामीलाई पनि यस विषयमा कुनै जानकारी छैन । केन्द्रलाई नै सोध्दा राम्रो होला,” बाह्रखरीको जिज्ञासामा दुवैको जवाफ थियो ।


काठमाडौंले नसक्दा अन्तर्राष्ट्रिय खेल आयोजनाको जिम्मेवारी पनि पोखरा रंगशालाले सफलतापूर्वक पूरा गरेको थियो । काठमाडौंमा मैदानको समस्या हुँदा सन् २००८ मा पाकिस्तानविरुद्ध तथा २०११ मा भुटानविरुद्ध नेपाली राष्ट्रिय टोलीले दुई–दुई अन्तर्राष्ट्रिय खेल पोखरा रंगशालामै खेलेको थियो । त्यसबाहेक नियमित हुने आहा–रारा गोल्डकप नेपाली फुटबलकै सबैभन्दा गुणकारी प्रतियोगिता हो । यसैगरी स्थानीय स्तरका विभिन्न प्रतियोगिताहरुका कारण वर्षैभरी व्यस्त रहने रंगशाला आजकल सुनसान बनेको छ ।

आहा–रारा र मनकामनमा केबलकार फुटबल प्रतियोगिता सुरु हुन अब तीन महिना पनि बाँकी छैन । तर रंगशाला खण्डहरमा परिणत भएकाले आयोजकहरु आफैं मैदान निर्माणमा जुटेका छन् । मैदान मर्मतको नेतृत्व गरिरहेको जिल्ला फुटबल संघका अनुसार कम्तिमा मैदान बनाउन तथा राखेपले भत्काएको प्यारापिटको भग्नावशेष पन्छाउनमात्र १० लाख रुपैयाँ खर्च हुन्छ । नयाँ अस्थायी प्यारापिट बनाउन तथा अन्य कामका लागि प्यारापिट भत्काइएकै कारण थप १० लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।
निर्माण पूरा गर्ने भनेर रातारात भत्काइएको पोखरा रंगशालाको निर्माण काम निर्धारित ९ महिनामा सुरु हुन समेत किन सकेन त ? 


गतवर्ष आहा–रारा गोल्डकप उद्घाटनको क्रममा अर्को संस्करणदेखि सुविधासम्पन्न रंगशालामा प्रतियोगिता हुने घोषणा गरेका नेपाली खेलकुदका कार्यकारी प्रमुख राखेपका सदस्यसचिव विष्ट सरकारबाट आवश्यक बजेट नआएका कारण काम हुन नसकेको तर्क गर्छन् । “पोखरा रंगशालाको बजेट १ अर्ब ३२ करोड रुपैयाँ हो । हाम्रो नियमअनुसार सबै बजेटको सुनिश्चितता नभएसम्म ग्लोबल टेण्डर हुँदैन । सरकारबाट ५३ करोड रुपैयाँमात्र बजेट आयो । त्यही भएर बन्न सकेन,” बनाउने ग्यारेन्टी नभइकन किन भत्काएको त भनेर सोध्दा उनी पन्छिन खोजे, “पहिलाका मन्त्री र सचिवले चाँडै आवश्यक बजेट आउँछ भनेर ग्यारेन्टी गरेका कारण भत्काइयो । तर बजेट आएन । अहिले त्यस्तो बजेटको ग्यारेन्टी आएको छैन । बजेटको ग्यारेन्टी नभएसम्म काम अघि बढ्दैन ।”

तस्बिर सौजन्य : सुदर्शन रञ्जित 

१२ खरी डट कम बाट साभार 

Write a Comment