पोखरामा यौन व्यवसाय : महिला मात्रै दोषी !
15-November-2018

प्रहरीले यौनकर्ममा लागेका पुरुष, तेस्रोलिङ्गी, पुरुष ग्राहक, होटल तथा रेस्टुराँ सञ्चालकलाई छाडेर आफूहरूलाई मात्र पक्राउ गरेको महिला यौनकर्मीहरूको गुनासो छ।

युवराज श्रेष्ठ

पोखरा |

पटक-पटक यौनकर्मीका रूपमा पक्राउ परेका महिलाहरू प्रहरीले पुरुष ग्राहक, बिचौलिया र होटल-रेस्टुराँ सञ्चालकलाई पक्राउ नगरी आफूहरूलाई मात्र दुःख दिने गरेको बताउँछन्।

प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्‍मा भनिन्, “मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर महिला अस्मितामाथि प्रहार गर्नुभएको छ।” उनले मुख्यमन्त्री गुरुङको राजीनामासमेत माग गरिन्।

मुख्यमन्त्री गुरुङले पोखरामा आयोजित एक कार्यक्रममा यौन धन्दा खुलेआम मौलाएकाले यसको व्यवस्थापन नहुँदा समाजलाई हानि मात्र पुग्ने धारणा राखेका थिए। यसले महिलालाई अपमान गरेको बताउँदै गण्डकी प्रदेशसभामा पनि सांसदहरूले सार्वजनिक रूपमा गुरुङले माफी माग्नुपर्ने माग गरेका थिए।

मुख्यमन्त्री गुरुङ भने आफूले महिलाको अस्मितामाथि प्रश्न नउठाएको तर विभिन्न अध्ययनले पुरुष, तेस्रो लिङ्गीसमेत यौन धन्दामा संलग्न रहेको देखाएकाले त्यसको व्यवस्थापनका लागि बहस थाल्नुपर्ने बताउँछन्।

उनले यौन धन्दाको व्यवस्थापन गर्न चार वटा उपाय सुझाएका छन्। यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने। यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी छ।

उनी भन्छन्, “भित्रभित्रै यौन धन्दा चलिरहने र सरकार हेरेर मात्र बस्ने हुँदैन। कानून बनाएरै यसको नियन्त्रण गर्नुपर्छ।” आफूले यौन धन्दामार्फत कर संकलन गर्ने सोच नबनाएको समेत उनले प्रष्ट्याए।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सदस्यसमेत रहेकी सांसद चन्दा चौधरी यौन धन्दा व्यवस्थापनमा बहस होइन, यसलाई निषेध नै गर्नुपर्ने बताउँछिन्। “हाम्रो समाजले कस्तो चिजलाई मान्यता दिन्छ भनेर सोच्नुपर्छ,” उनी भन्छिन्, “रेडलाइट एरिया खोल्ने वा यौन धन्दालाई वैध गर्ने कुरा हामीकहाँ सोच्न पनि सकिँदैन।”

अहिले भित्रभित्रै भइरहेको यौन धन्दालाई कानून बनाएरै नियन्त्रण गर्नुपर्ने तर अन्य देशमा भएको यौन धन्दाको नक्कल हामीकहाँ हुन नसक्ने उनको धारणा छ। उनी भन्छिन्, “गर्ने नै हो भने शिक्षा, स्वास्थ्य, रोजगारी, ज्येष्ठ नागरिकलाई दिने सुविधामा नक्कल गरौं। तर, समाज हेरी महिलालाई अपमान हुने कुनै कुरा नक्कल नगरौं।”

गण्डकी सरकारले यौन धन्दा चलाउने वा रेडलाइट एरिया खोल्ने बारे नसोचेको तर यसबारे बहस भएर यसमा संलग्नहरूका लागि उपयुक्त नीति तथा कार्यक्रममा ल्याउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ।

 

महिला मात्रै पक्राउ

पोखराको नागढुङ्गास्थित निर्भाना खाजाघरबाट १४ असोजमा यौनकर्मीको आरोपमा पर्वत कुश्माकी २८ वर्षीया पार्वती (नाम परिवर्तन) पक्राउ परिन्। दुबईमा पाँच वर्ष घरेलु कामदार रहेर गत वर्ष मात्र स्वदेश फर्केकी उनी यसपालि कतार जानका लागि अन्तर्वार्ता दिन काठमाडौं जाँदा आउँदा चिनेको सो खाजा घरमा पुगेकी थिइन्।

गएको २ साउनमा पनि पासपोर्टलगायत कागजात बुझाउन आउँदा सोही खाजाघरमा बसेको र यौनकर्मीको आरोपमा प्रहरीले पक्रेर १८ दिनसम्म हिरासतमा राखेको उनले बताइन्। पछिल्लो पटक निर्भाना खाजाघरबाट पार्वतीसँगै अन्य दुई र पोखराकै नयाँबजारस्थित बेतिसा खाजाघरबाट तीन युवतीलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

रेस्टुराँ र खाजाघरबाट मात्र होइन, होटल र पोखराका अन्य चोकहरूबाट पनि बेलाबखत यौनकर्मीका नाममा महिलालाई प्रहरीले पक्राउ गर्ने गरेको छ। गुनासा र उजुरीका आधारमा र कहिलेकाहीं प्रहरी आफू ग्राहक भएको बताउँदै ‘स्टिङ अप्रेसन’मार्फत् उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

स्याङ्जाकी ३१ वर्षीया पुतली (नाम परिवर्तन) श्रीमानले छाडेपछि बालबच्चा पाल्न यस्तो धन्दामा लाग्नुपरेको बताउँछिन्। यस्तै, तनहुँ दमौलीकी जोसिता (नाम परिवर्तन) पनि आमा-बुबाको मृत्यु भइसकेको र कमाइ गर्ने कोही नभएकाले बाँच्नकै लागि यस्तो धन्दा गर्नुपरेको बताउँछिन्।

प्रहरीले यौनकर्ममा लागेका पुरुष, तेस्रोलिङ्गी, पुरुष ग्राहक, होटल तथा रेस्टुराँ सञ्चालकलाई छाडेर आफूहरूलाई मात्र पक्राउ गरेको उनीहरूको गुनासो छ। पटक-पटक यौनकर्मीका रूपमा पक्राउ परेकी स्याङ्जाकी पुतली भन्छिन्, “प्रहरीले हामीलाई मात्र दुःख दिन्छन्।”

पोखरामा पछिल्लो नौ महीनामा यौन धन्दा गरेको आरोपमा झण्डै ९०० महिला यौनकर्मी पक्राउ परेको प्रहरीले जनाएको छ। यो संख्यामा पटक-पटक पक्राउ पर्नेहरू पनि छन्। पक्राउ पर्नेलाई मानव बेचबिखनको मुद्दा लगाउने र रु. १५ हजारदेखि २० हजार धरौटीमा छुट्ने गरेको प्रहरी बताउँछ।

 

‘रेस्टुराँ सञ्चालक पनि महिला’

पोखरास्थित बाग्लुङ बसपार्क केही वर्ष अघिसम्म यौन धन्दाको अखडाका रूपमा बदनाम थियो। जब कास्कीको प्रहरी प्रमुखका रूपमा २४ पुस २०७० मा एसपी वसन्तकुमार लामा आए, बाग्लुङ बसपार्क उनको निशानामा पर्‍यो। एसपी लामाले त्यतिबेला दिनरात प्रहरीको सीआरभी भ्यान नै त्यही इलाकामा राखेर कारबाही चलाएका थिए।

त्यतिबेला पनि यौनकर्मीका रूपमा महिला मात्र पक्राउ पर्ने गरेका थिए। कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार यौन धन्दा हुने गरेका रेस्टुराँ सञ्चालक पनि महिला छन् र उनीहरू बेलाबखत पक्राउ पर्ने गरेका छन्। कहिलेकाहीं पुरुषलाई समेत पक्राउ गरिएको उनको भनाइ छ।

“प्रहरीलाई सादा पोशाकमा ग्राहकका रूपमा पठाउँदा यौनकर्मीको आशंकामा महिलासँग नै कुरा हुन्छ। यौनकर्मी भएको प्रमाणित भएपछि पक्राउ गरिन्छ,” एसपी राना भन्छन्, “स्टिङ अपरेशन गरिएका रेस्टुराँका सञ्चालक पनि महिला हुन्छन्। उनीहरूलाई पक्राउ गर्दा पनि महिलाको संख्या बढी देखिएको हो।” यौन धन्दामा लाग्ने पनि बढी महिला भएकाले उनीहरू धेरै पक्राउ परेको उनको भनाइ छ।

यौन धन्दाका नाममा महिला मात्र पक्राउ पर्नुलाई गण्डकी प्रदेशसभा सांसद दीपा रोका मगर राज्यले गरेको विभेद मान्छिन्। “यौन धन्दामा महिलाभन्दा पुरुषको बढी हात हुन्छ,” उनी भन्छिन्, “सबैभन्दा पहिला बिचौलिया र यस्ता धन्दा चलाउने होटल-रेस्टुराँ सञ्चालकलाई कारबाही गर्नुपर्छ।” यसमा एउटै कोठा दिनमा पाँच पटकसम्म बेच्ने होटल-रेस्टुराँ सञ्चालक, पुरुष ग्राहक बढी दोषी रहेको उनको भनाइ छ।

प्रहरी प्रमुख एसपी राना भने जाहेरी नदिई होटल सञ्चालक, बिचौलिया र ग्राहकलाई पक्राउ गर्न नसकिने बताउँछन्।

 

कानून अभाव

पक्राउ गरी कारबाही चलाएको रेकर्डका आधारमा यौन अपराधलाई प्रहरीले विभिन्न तहमा वर्गीकरण गरेको छ। होटल तथा रेस्टुराँको मातहत, ट्याक्सी ड्राइभरको सम्पर्कबाट, ग्राहकलाई आफैंले फोन गरेर धन्दा गर्ने तथा चोक-चोकमा बसेर ग्राहक खोज्ने यौनकर्मीहरू भेटिएको प्रहरीको रेकर्डमा छ। यसरी भेटिनेहरू पनि प्रायः सबैजसो महिला छन्।

यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रहरीले प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गर्छ। मुलुकी संहितामा पनि यौन धन्दाका विषयमा प्रष्ट उल्लेख नभएकै कारण सोही अपराधअन्तर्गत अहिले पनि मुद्दा चलाउने गरेको प्रहरीको भनाइ छ।

पछिल्लो समय यौनकर्मीको संख्या बढ्दै गएको र पटक-पटक पक्राउ पर्दा समेत यौन धन्दा नछाडेका कारण नियन्त्रण गर्न मुश्किल परेको एसपी राना बताउँछन्। “यौन धन्दाका विषयमा स्पष्ट कानून नभए पनि नियन्त्रणको प्रयास गरिरहेका छौं,” उनी भन्छन्, “एक पटक कारबाही भोगेका यौनकर्मी पुनः त्यही पेशामा फर्किनबाट रोक्न नसक्नु नै चुनौती बनेको छ।”

 

साभार : हिमाल खबर http://himalkhabar.com/news/9660?fbclid=IwAR3wqx7M2DcVjS-6mNPZBaBHpwNjmFgYyl4X8aoeThpx2CZ6W1-_bGzfNIE

Write a Comment

Events
Random Picks