जथाभावी सडक विस्तार : फेवातालको अस्तित्व संकटमा
19-November-2018


पोखरा,मङ्सिर ४
फेवातालको मूल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ। माकुराको जालोझैं ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ।

तालको सिरान क्षेत्रमा मोटरबाटो विस्तार हुँदै जाँदा त्यहाँबाट बगेको माटो सीधै फेवातालमा मिसिने गरेको छ। त्यसले फेवाताल पुरिने क्रम झनै तीव्र पारेको छ । तालको सिरान क्षेत्रका बस्तीमा मोटर पु-याउने उद्देश्यले बाटो खनिएको हो । तालआसपासका डाँडामा समेत मोटरबाटो विस्तार हुँदा बगेको माटो सीधै तालमा मिसिने गरेको छ।

तालको मूल सिरान पञ्चासे क्षेत्र हो । त्यस क्षेत्रमा पर्याप्त खहरे खोला छन् । त्यही क्षेत्रमा बर्सेनि मोटरबाटो विस्तार हुँदा वर्षामा पहिरो झर्ने क्रम पनि उत्तिकै तीव्र छ । त्यसबाहेक खहरेको भेल पनि सीधै तालमा मिसिने गरेको छ। पञ्चासे क्षेत्रको जैविक विविधता अध्ययन गरेका अध्ययनकर्ता सञ्जय देवकोटाका अनुसार सन् २०१६ अगस्टसम्म त्यस क्षेत्रमा ३ सय ५ किलोमिटर मोटरबाटो खनिसकिएको थियो । त्यसपछि पनि बाटो विस्तारको काम जारी छ।

‘२०१६ को अगस्टसम्मको तथ्यांक हेर्दा नै तालको जलाधार क्षेत्रमा मोटरबाटो विस्तारको अवस्था डरलाग्दो थियो । अहिले झनै बाटो थपिएको छ,’ देवकोटाले भने, ‘सडक सञ्जाल यस्तो छ कि कुन बाटो कहाँ जान्छ भन्ने नै पत्तो छैन ।’ त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको अनुसन्धानका क्रममा जलाधार क्षेत्रको एक सय ११ वर्गकिलोमिटर क्षेत्रमा अध्ययन गर्दा ३ सय ५ किलोमिटर सडक विस्तार भएको उनले बताए । ‘जलाधार क्षेत्रको यो डरलाग्दो अवस्था हो । यस्तै अवस्था रह्यो भने ताललाई अझै खतरा हुुन सक्छ,’ उनले भने, ‘अहिलेसम्म अरु सडक पनि थपिएको छ।’

पञ्चासे संरक्षित वन मूल परिषद्का सहसचिव दिलबहादुर भट्टराईका अनुुसार अहिले तालको जलाधार (सिरान) क्षेत्रमा डरलाग्दो रुपमा मोटरबाटो विस्तार भइरहेको छ । उनका अनुसार ताललाई तीन सय किलोमिटरभन्दा बढी दूरीको मोटरबाटोले घेरिसकेको छ । विस्तारित सडकको सबैभन्दा बढी खण्ड सिरान क्षेत्रमा छ । तालको दायाँबायाँका गाउँमा पनि उस्तै गतिमा मोटरबाटो विस्तार भइरहेको छ । दायाँबायाँ विस्तार भएका सडकको माटो पनि वर्षायाममा खहरे हुँदै बगेर तालमा मिसिन्छ । एकाध सडकका केही दूरीमा कालेपत्रेबाहेक सिरान क्षेत्रको मोटरबाटो सबै कच्ची हो।

‘तालको जलाधार क्षेत्रमा साह्रै डरलाग्दो रुपमा मोटरबाटो विस्तार भएको छ। ताल पुरिने क्रमलाई सिरान र आसपासका क्षेत्रमा खनिएको मोटरबाटो नै पर्याप्त भएको छ,’ भट्टराईले भने, ‘जब मोटरबाटो खन्न थालियो, त्यसपछि ताल पुरिने क्रम पनि बढेको हो । मोटरबाटो खन्नुअघि ताल क्षेत्रका खहरेले बगाएको केही ढुंगामाटो तालमा मिसिन्थ्यो । तर अहिले त सबैतिर बाटो खनिएको छ, बाटो विस्तार गर्दाको माटो कतै नरोकिई सीधै तालमा पुग्छ ।’ विस्तारित सडकमध्ये केहीमा नियमित मोटर चल्छ भने केही खनेदेखि नै बिग्रेभत्केका छन् । तिनमा नियमित मोटर गुड्दैन।

भट्टराईका अनुसार ताल आसपासमा अहिले झन्डै २० किलोमिटर दूरीका आधा दर्जन सडक छन् । विन्ध्यवासिनीबाट सराङकोट हुँदै नागडाँडा भएर भदौरेसम्म झन्डै २० किलोमिटर सडक छ । सराङकोटबाट नागडाँडासम्म अघिल्लो वर्ष कालोपत्रे भएको हो । त्यही सडकको झन्डै २ किलोमिटर दूरी राजमार्गमा परे पनि भदौरेसम्मको बाँकी खण्ड पूरै कच्ची हो । त्यस्तै पोखराको नयाँबसपार्कबाट पँदेली हुँदै कास्कीकोट–ढिकुरपोखरी–भदौरेसम्मको २० किलोमिटर सडक पनि कच्ची छ । हल्लनचोकबाट ठूलाखेत हुँदै तामागीबाट भदौरे पुग्ने २२ किलोमिटरको पनि अधिकांश खण्ड कच्ची छ । यो सडक ताल किनारबाटै खनिएको छ।

त्यस्तै ठूलाखेतबाट पञ्चासे भञ्ज्याङ पुग्ने १६ किलोमिटर खण्ड पूरै कच्ची हो । घाँटीछिनाबाट सिदाने जोड्ने १० किलोमिटर सडक पनि कच्ची नै छ । ठूलाखेतबाट ऐसेलुचौर हुँदै घरेडी पुग्ने ६ किलोमिटर सडक पनि कच्ची छ । पुम्दीभुम्दीबाट शान्तिस्तुप हुँदै फेवा झरेर पामे पुल हुँदै घाँटीछिना पुग्ने झन्डै १५ किलोमिटर सडक पनि कच्ची नै हो । त्यसबाहेक मूल सडकलाई छुनेगरी दर्जनौंं सहायक सडक बनेका छन् । घरघर पुग्ने सहायक सडक खन्ने क्रम अझै रोकिएको छैन । चारपाँच किलोमिटर दूरीका सहायक सडक बस्तीबस्तीसम्म फैलिएको भट्टराईले जानकारी दिए।

मोटर बाटो विस्तारसँगै त्यस क्षेत्रमा पहिरो झर्ने क्रम पनि बढेको छ । पहिरोले माटो बगाएर सीधै तालमा पुया{उने गरेको पनि भट्टराईले बताए । उनका अनुसार कच्ची भएकाले हरेक वर्षजसो एउटै मोटरबाटो दोहो-याएर खन्ने गरिन्छ । सडक सुधार र मर्मतमा सधैं डोजर र स्काभेटर जस्ता गह्रौं साधन प्रयोग गरिन्छ । त्यसले कमजोर बनेको सडक वर्षायाममा पहिरो बनेर झर्छ । ‘वर्षामा भेलले खोलेको सडक हिउँदमा सम्याइन्छ अनि वर्षामा पुन पहिलेजस्तै भेलले खोल्छ,’ भट्टराईले भने, ‘हरेक वर्ष खन्ने र पुर्ने क्रम दोहोरिने गरेको छ । सबै बाटो कालोपत्रे भए मात्र माटो बग्न रोकिन्छ, नत्र यो क्रम अझै बढ्छ ।’ उनका अनुसार मोटरबाटो विस्तार हुनुअघि स्थानीयले कृषिकर्म गर्दा बगेको भन्दा पछिल्लो दशक मोटरबाटो विस्तार हुँदा बगेको माटोले ताल तीव्र गतिमा पुरेको छ।

देवकोटाले सडक विस्तारले नै त्यस क्षेत्रमा वर्षायाममा पहिरो जाने क्रम बढेको बताए । ‘सडकको योगदान पहिरोका लागि छ । रोकथाम गर्न पनि विधि छ तर वास्ता छैन,’ उनले भने, ‘डोजर लगाउने क्रम चलेको छ । वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा समस्या छ ।’ उनका अनुसार प्रयोगमै नआएको सडक पनि प्रशस्त छ । त्यस्तै अहिले पनि स्थानीय तहले ती ठाउँमा सडक विस्तारमा अझै बजेट लगानी गरेका छन् । ‘अबको विकल्प आवश्यक सडक पहिचान गनुपर्छ । अत्यावश्यक सडकलाई स्तरोन्नति गरेर अरु सडक विस्तारमा रोक्न सकिन्छ,’ भट्टराईले भने, ‘बायोइन्जिनियरिङ विधिबाट पनि रोक्न सकिन्छ।’

सरकारले गरेको अध्ययनले फेवातालमा हर्पनलगायतका खोलाबाट बर्सेनि करिब १ लाख ४० हजार मेट्रिकटन ढुंगा, माटो, बालुवा बगेर आउने गरेको तथ्यांक देखिएको छ । सरकारले २०६९ सालमा ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ गठन गरेको थियो। आयोगको अध्ययनले तालको पुरिने गति तीव्र रहेको देखाएको थियो । सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, माटो, गिटीले पुरिँदै जाँदा करिब २२ हजार रोपनी क्षेत्रफलको फेवाताल अहिले करिब ८ हजार रोपनीमा झरेको अध्ययनले देखएको छ । विभिन्न खहरे खोलाबाट तालमा मिसिने ढुंगा, बालुवा, गिटी रोक्न तालको सिरान क्षेत्रमा ‘चेकड्याम’ बनाउनुपर्ने सुझाव उति बेलै दिइए पनि अझै कार्यान्वयन नभएको देवकोटाले बताए।

फेवातालको जलाधार क्षेत्र पोखरा महानगरपालिकाका १८, २३, २४ नम्बर वडामा पर्छ। त्यसबाहेक अन्नपूर्ण गाउँपालिकाका १ देखि ४ नम्बरका वडा पनि जलाधारा क्षेत्रअन्तर्गत पर्छन्। महानगर प्रमुख मानबहादुर जिसी जथाभावी स्काभेटर र डोजर प्रयोगले त्यस क्षेत्रको जमिन कमजोर बनेकाले बर्सेनि पहिरो जाने गरेको बताउँछन् । ‘मोटरबाटो विस्तार भइसक्यो, अब रोकेर रोकिन्न, बरु पहिरो जान नदिन बायोइन्जिनियरिङ गर्दै वृक्षरोपण गर्न सकिन्छ,’ उनले भने, ‘यसअघि नै सडक विस्तार रोक्न सकेको भए राम्रो हुन्थ्यो तर अब यसमा कडाइ गर्न सकिन्छ। सडक आवश्यक छ वा छैन, हेरेर मात्र विस्तार गर्न सकिन्छ।’

उनले अति प्रयोगमा आउने सडकलाई कालोपत्रे वा ग्राभेल गरेर थप बग्न नदिनेगरी सुधारको योजना महानगरले बनाएको बताए । ‘सडक विस्तार जारी राख्ने हो भने ताललाई अझै भार थपिनेछ, तालको पुरिने क्रम अझै बढ्नेछ,’ मेयर जिसीले भने, ‘यसबारेमा सरोकारवाला सचेत हुनैपर्छ।’ उनले तालमा माटो मिसिन नदिनकै लागि ठाउँठाउँमा चेक ड्याम बनाउने तयारी महानगरले बनाएको पनि बताए।

तस्बिर
पोखरास्थित फेवातालको जलाधार क्षेत्र पञ्चासे खण्डमा विस्तार भएका सडक र खहरे खोलाको अवस्था ।

नागरिक न्युजबाट  

Write a Comment

Events
Random Picks