गण्डकी मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुको मागप्रति विवेकशील साझा पार्टी गण्डकीको ऐक्यबद्धता
8-February-2019

पोखरा, २५  माघ ।

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको माग प्रति ऐक्यबद्धता जनाएको छ । उसले विद्यार्थीहरुको मागप्रति कलेजले तत्काल सम्बोधन गर्नुपर्ने बताएको छ ।

विवेकशील साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारीद्वारा जारी प्रेस विज्ञप्तीमा सरकारले तोकेको भन्दा पनि बढि शुल्क लिएर गण्डकी मेडिकल कलेजले मनपरी गरेको बताईएको छ ।

‘यो सरासर लुटतन्त्र हो । कलेजले विद्यार्थीमाथि गरेको यो अन्यायप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ–‘ मनपरी शुल्कका विरुद्ध विद्यार्थीले गरेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता जनाउँदै कलेजलाई तत्काल यस्ता हर्कत रोक्न आग्रह गर्दै प्रशासन समक्ष उचित छानविनको माग गर्दछ ।’

साथै विवेकशील साझा पार्टीले गण्डकी मेडिकल कलेजले विद्यार्थीलाई थप शुल्कको बिल भरपाई नदिएर करप्रणाली नमानेको दाबी समेत गरेको छ । कलेजले विद्यार्थीहरुलाई अन्याय गर्नुका साथै करप्रणालीमाथि नै प्रहार गरेकाले प्रशासनले आवश्यक छानविन गर्नुपर्ने उसको धारणा छ ।

काठमाडौं उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सरकारी नियम छ । यद्यपी विद्यार्थीहरुले ५५ लाख रुपैयाँभन्दा बढि शुल्क तिर्दै आएको बताएका छन् । हाल कलेजले शुल्क घटाउनुपर्ने माग सहित विद्यार्थीहरु आन्दोलित छन् ।

हेर्नुस् विवेकशील साझा पार्टी गण्डकीले जारी गरेको प्रेस विज्ञप्ती :

प्रेस विज्ञप्ती

चिकित्सा शिक्षा अध्ययन यसै पनि महँगो छ । सामान्य आर्थिक स्थिती भएकाहरुका लागि चिकित्सा शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह«ो कुरा हो । त्यसैमाथि चिकित्सा शिक्षा अध्यापन गर्दै आएका कलेजहरुले मनपरी शुल्क लगाउँदा विद्यार्थीहरु झन् मारमा परिरहेका छन् ।

त्यसो त नेपाल सरकारले नै उपत्यका र उपत्यका बाहिर गरि चिकित्सा शिक्षा अध्ययन गर्दा लाग्ने शुल्क तोकेको छ । यद्यपी चिकित्सा शिक्षा अध्यापन गर्दै आईरहेका कलेजहरुले सरकारी नियमलाई नै माथ दिएर विद्यार्थीलाई आवश्यकभन्दा बढि शुल्क लिएर मनपरि गरिरहेका छन् । पोखराको गण्डकी मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले तोकिएको मुल्यभन्दा १६ लाख रुपैयाँसम्म बढि शुल्क तिर्नुपर्छ । अनावश्यक विभिन्न शिर्षक बनाएर कलेजले विद्यार्थीलाई आर्थिक भार थोपरेको छ ।

विद्यार्थीसँग उठाउने थप शुल्कको कुनै बिल नदिई खालि कागज मात्र दिएर बेईमानी गरेको देखिन्छ । सरकारले तोकेको मुल्यभन्दा बढि शुल्क उठाएर त्यसको हिसाबकिताब नदेखाउनका लागि विद्यार्थीलाई दिईने खाली कागजकै कारण उसले सरकारी कर प्रणालीलाई नै गिज्याएको छ ।

विद्यार्थीमाथि यस्तो खालको अन्याय विवेकशील साझा पार्टीका लागि मान्य छैन । यो सरासर लुटतन्त्र हो । कलेजले विद्यार्थीमाथि गरेको यो अन्यायप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । र, मनपरी शुल्कका विरुद्ध विद्यार्थीले गरेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता जनाउँदै कलेजलाई तत्काल यस्ता हर्कत रोक्न आग्रह गर्दै प्रशासन समक्ष उचित छानविनको माग गर्दछ ।

हामी कल्याणकारी लोकतन्त्रमा विश्वास गर्छौँ, शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व ठान्छौँ ।

महेश भण्डारी 
गण्डकी प्रदेश सँयोजक 
विवेकशील साझा पार्टी

Write a Comment

Events
Random Picks