समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ
15-April-2019


जक्सन डटकम
पोखरा, वैशाख २

स्थानीय ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य अर्जुन गिरीलाई साइबर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि व्यवसायी विपेन्द्रराज बतासका बारेमा लेखिएको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए ।

पक्राउ परेका पत्रकार गिरीलाई सोमबार नै काठमाण्डौं लगिएको छ । कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनानुसार पक्राउ गरिएको बताए ।

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साईवर क्राईमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल रिहाईको माग गरेको छ ।

Write a Comment