पत्रकार गिरीको रिहाइ माग्दै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा धर्ना
17-April-2019


जक्सन डटकम
पोखरा, वैशाख ४ 

पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै कास्कीका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन्।

साइवर क्राइम मुद्दामा पक्राउ गरी कारबाही गरेको भन्दै उनको रिहाइको माग गर्दै पोखराका पत्रकारहरूले धर्ना दिएका हुन्।

पत्रकार महासंघ कास्कीको अगुवाइमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एकरएक घण्टा धर्ना दिए। धर्नापछिको कोणसभामा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले गिरीलाई विनाशर्त रिहाइ गर्न, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नमा माग गरे ।

बुधबार पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरूले सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा बिहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरूमा कालो ब्यानर राखेर विरोध गरेका थिए । 

बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोमबार साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो। ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो। मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ।

Write a Comment