पोखरामा दुई ठाउँमा बम, डिस्पोज गर्ने क्रममा सैनिक नायक घाइते
18-April-2019

पोखरा, ५ बैशाख । पोखराको प्रदेशसभा भवन नजिकै र लेखनाथमा बम भेटिएको छ । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको छ । त्यसलाई डिस्पोज गर्ने क्रममा सेना घाइते भएका छन् ।

बम डिस्पोज गर्न पुगेको कालिभञ्जन गणका सेना नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पोखरा २९ स्थित लेखनाथ, सैनिक बस्तीमा शंकास्पद वस्तु भेटिएको छ । अहिले त्यहाँ डिस्पोज गरिदैंछ । पोखरा जिरोकिमि क्षेत्रमा पनि मध्यरातमा सडकमै टेपले बेरेको अवस्थामा प्रेसरकुकर भेटिएको थियो । तर, त्यसमा बम नभएको र पानी मात्र भएको डिएसपी कोमल शाहले बताए ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द घोषणा गरेको थियो ।  शंकास्पद बस्तुहरु पनि सोहि समूहले राखेको हुन सक्ने आशंका छ । यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । लामो दुरीका गाडीहरु नचलेपनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।

Write a Comment

Events
Random Picks