पोखरा विश्वविद्यालयको ‘ग्रेड’ विवाद टुङ्गियो, ’डी प्लस’ ल्याउनेको रजिष्ट्रेशन नहुने
21-April-2019


पोखरा, वैशाख ८

लामो समयदेखि ’डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा पोखरा विश्वविद्यालयमा रहेको विवाद सुल्झिएको छ।

पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त कलेजले नियमविपरीत विद्यार्थी भर्ना गरेको भन्दै लामो समयदेखि विवाद थियो। विश्वविद्यालयबाट मान्यता प्राप्त ४२ कलेजले आफूखुसी विद्यार्थी भर्ना गरिरहेका थिए । अब ’डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको भर्ना रजिष्ट्रेशन नहुने विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो सँगै पोखरा विश्वविद्यालय अन्तर्गतका ४२ कलेजमा ’डि प्लस’ ग्रेड आएका र अध्ययन गरिरहेका ३९१ विद्यार्थीको पनि रजिष्ट्रेशन नहुने जानकारी विश्वविद्यालयले दिएको छ। नियमविपरीत भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन रोक्नुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएर विद्यार्थीहरू लामो समयदेखि आन्दोलित थिए।

विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयले चालू शैक्षिक सत्रमा तीनपटक परीक्षा मिति हेरफेर गरेको थियो। गत फाल्गुन ३० गते हुने भनिएको परीक्षा चैत्र ३० मा सारिए पनि विद्यार्थी आन्दोलनले परीक्षा हुन सकेको थिएन। विद्यार्थीले गरेको आन्दोलन र तालाबन्दीका कारण वैशाख ६ गते सञ्चालन गर्ने भनिएको ४ संकायको परीक्षासमेत स्थगित भएको थियो।

पटकपटक परीक्षा मिति फेरबदल हुनुका साथै विद्यार्थीले गरेको आन्दोलन नरोकिएपछि प्राज्ञिक परिषद्ले ’डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन नहुने निष्कर्षमा निकालेको हो। विश्वविद्यालयले अब ’डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गरेको पाइएमा कलेजको सम्बन्धन खारेज हुनसक्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

विश्वविद्यालयले जारी गरेको विज्ञप्ति : 


 

Write a Comment

Events
Random Picks