पोखराका पत्रकार ऋषिराम बराल टङ्कादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत
7-May-2019

जक्सन डटकम
पोखरा, वैशाख २४

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा हिमालय टाइम्स दैनिक पोखराका पत्रकार ऋषिराम बराल टङ्कादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार बराललाई रु २५ हजार एक राशिका सो पुरस्कारबाट सम्मान गर्नुभएको हो । महानगरपालिकाका प्रमुख जिसीले पत्रकारिता गरेर बाँच्ने आधार अहिले पनि नभएको भन्नुहुँदै पत्रकारलाई सम्मानसँग बाँच्ने खालको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रपतिका संस्कृतिसम्बन्धी सल्लाहकार एवं अग्रज पत्रकार माधव शर्माले पोखराको पत्रकारिता स्तरीय रहेको चर्चा गर्दै पत्रकारलाई खोजमूलक समाचारतर्फ बढी केन्द्रीत हुन आग्रह गर्नुभयो ।

पुरस्कारका संस्थापक सुवर्णप्रसाद कोइरालाले पत्रकारका लागि केही गर्नुपर्ने आमाको इच्छा र प्रेरणाबाट पुरस्कारको स्थापना गरिएको जानकारी गराउनुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रीकी अप्सरा दिदीले कलमको माध्यमबाट समाजलाई उज्यालो मार्ग देखाउने पत्रकार राष्ट्रको जागरुक सैनिक, प्रहरी जस्ता हुनुका साथै शान्तिका दूतको पनि भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो ।

पुरस्कृत पत्रकार ऋषिराम बरालले सत्य, तथ्य समाचार सम्प्रेषणतर्फ आपूm सदैव प्रतिबद्ध रहने प्रतिवद्धता जनाउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक कुसुमकेशव पराजुली, सङ्घकी उपाध्यक्ष विमला भण्डारी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार उमाकान्त शर्माले पत्रकारिता क्षेत्रको विविध विषयमा प्रकाश पार्नु भएका थिए ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित सो पुरस्कारको स्थापना कोइराला परिवारका सूर्यप्रसाद, सुवर्णप्रसाद र रुद्रप्रसादद्वारा स्थापना गरिएको रु पाँच लाखको अक्षयकोषको ब्याजबाट एकजना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

Write a Comment

Events