कांग्रेसले जितेका वडामा कम बजेट दिएको भन्दै पोखरा महानगरमा ताला
27-June-2019

पोखरा, असार १२

नेपाली कांग्रेसले जितेका वडामा बजेट कम दिएको भन्दै पोखरा महानगरपालिकाको कार्यालयमा तालाबन्दी र प्रदर्शन गरिएको छ।

कांग्रेसबाट उम्मेदवार भई चुनाव जितेका वडाध्यक्षहरूले महानगरका मेयर मानबहादुर जिसीले आफ्ना क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।

बजेटमा विभेद गरिएकोले बिहीबार नगरपालिका कार्यालयमा धर्ना र ताला लगाउनुपरेको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए।

‘कांग्रेसले जितेका वडामा गत वर्षभन्दा पनि कम बजेट दिइएको छ,’ लामिछानेले सेतोपाटीसँग भने, ‘बजेट असमान भयो। बजेट सच्याएर नल्याएसम्म हामी आन्दोलन जारी राख्छौं।’

कांग्रेसबाट चुनाव जितेका वडाहरूले नगरपालिकामा संकलन हुने कुल राजस्वको ८० प्रतिशत हिस्सा उठ्ने भए पनि बजेट वितरणमा भने ती वडालाई छानीछानी विभेद गरिएको उनले दाबी गरे।

‘राजस्व हामी धेरै उठाउने अनि बजेट अन्यत्र दिनेरु,’ उनले प्रश्न गरे।

उनका अनुसार नगरसभामा कांग्रेसबाट चुनाव जितेका वडाध्यक्षले रातो किताब च्यातेको स्वीकार गरेका छन्।

‘विभेदपूर्ण बजेट अस्वीकार्य छ,’ उनले भने, ‘हामीले रातो किताब च्यातिदिएकै हो।’

नगरपालिकाले ल्याएको बजेट समानुपातिक हिसाबको नभएको उनले बताए। कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लक्षित गरेर बजेट ल्याइएको आरोप पनि कांग्रेसबाट विजयी वडाध्यक्षले लगाएका छन्।

कास्की २ रवीन्द्र अधिकारीले चुनाव जितेका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र खाली छ।

वडाध्यक्ष शंकर बास्तोलाका अनुसार महानगरको बजेट उपनिर्वाचन केन्द्रित छ।

कांग्रेसले विरोध गरे पनि महानगरले बुधबार नै बजेट बहुमतको आधारमा पारित गरिसकेको छ।

पोखरा महानगरको नगरसभामा एक सय ७० सदस्यमध्ये ४८ जना कांग्रेसका छन्।

वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोलाले बजेट सच्चिनुपर्ने बताए।

‘बजेट सच्याएर समानुपातिक तबरले नल्याएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने।

बजेट नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले जितेका वडामा केन्द्रित गरिएको उनको भनाइ छ।

कांग्रेसले आन्दोलन गरेपछि नगरपालिकामा सेवा प्रवाहमा समस्या भएको छ। मेयर मानबहादुर जिसीले सबै वडामा समान तवरबाट बजेट दिइएको दाबी गरे। ‘बजेटमा विभेद गरिएको छैन,’ सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘बजेटमा त्रुटि नै छैन भने सच्याउनुपर्ने जरुरी हुँदैन।’

मेयर जिसीमाथि आन्दोलनरत कांग्रेसका वडाध्यक्षले अपशब्द बोलेको आरोप लगाएका छन्।

यसबारे मेयर जिसीले भने, ‘मैले अपशब्द बोल्ने कुरै भएन। बरु उहाँहरूले बोल्नुभएको छ। भिडिओ दुनियाँले हेरेका छन्। उहाँहरूले अपशब्द बोलेकोले माफी माग्नुपर्ने हो।’

तर आन्दोलनरत वडाध्यक्षहरूले ‘योजना माग्न म भएको ठाउँमा आउनुपर्ला नि’ भन्ने अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडान लिएर महानगरमा तालाबन्दी गरेका हुन्।

Write a Comment

Events