११ करोडमा बनेको नदीपुर र फुलबारी जोड्ने आर्क ब्रिज सञ्चालनमा (भिडियोसहित)
14-July-2019


पोखरा, असार २९

पोखरा महानगरपालिकाको वडा नम्बर ३, नदीपुर र पोखरा ११, फूलबारी जोड्ने आर्क ब्रिज शुक्रबारदेखि पूर्ण रुपमा संचालनमा आएको छ । ११ करोड २३ लाखको लागतमा बनेको उक्त पुल साढे ११ मिटरको चौडाई र ८० मिटर लम्बाई रहेको छ । पुलमा ७.५ मिटर गाडी गुड्ने र बाँकी दुवै तर्फ फुटपाथ हुन् ।

पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो । १० टन भारवहन क्षमताको उक्त पुल बन्न झण्डै २ वर्ष लाग्यो । यसबीचमा नदीपुर हुँदै मनिपाल अस्पताल पुग्न समस्या भएको थियो ।

हिराचन मुक्तिनाथ जोईन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको आयु कम्तिमा ५० बर्ष रहेको दाबी गरिएको छ । स्टिल ट्रष्टको उक्त पुल आधुनिक डिजाईनको रहेको र पाल्पा र स्याङ्गजा जोड्ने राम्दी नदीको जस्तै आकारमा बनेको छ ।

हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरसँग २०७३ असोजमै ठेक्का सम्झौता भएपनि डिजाईन फाईनल नहुँदा काम अघि बढ्न झण्डकै एक वर्ष लाग्यो । नदीपुरमा पक्की मोटरेबल पुल वनेपछि सवारी चाप व्यवस्थापनमा सहयोगी बन्ने देखिएको छ ।

पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ । यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।

यसअघि, नदीपुर र फुलवारी जोड्न नारायणधानमा पुल यस्तो पक्की पुल नहुँदा ठुला सवारी संचालन हुन सकेका थिएनन् । सिँचाईको नहरको प्रयोजनको लागि बनेको पहिलाकै पुलवाटै साना सवारी संचालन हुँदै आएको थियो ।

तस्बिर : अर्जुन गिरी / जक्सन डटकम
भिडियो : आशिक थापा मगर / जक्सन डटकम

Write a Comment

Events
Random Picks