गण्डकी प्रदेश प्रहरीलाई प्रदेश सरकारले दियो ३५ थान मोटरसाइकल
18-July-2019


पोखरा, साउन २

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरुका लागि ३५ थान मोटरसाइक खरिद गरेर हस्तान्तरण गरेको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच प्रदेश प्रहरी कार्यालयलाइ ३५ थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।प्रहरीले शुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ मोटरसाइकल खरिद गरिएको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले सवारी साधनको अभावका बाबजुद पनि उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल प्रहरीलाई अब समयानुकूल परिष्कृत गर्दै लैजानुको विकल्प नरहेको पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको सुनाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले उपलब्ध स्रोत साधनहरुको भरपुर सदुपयोग गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन गण्डकी प्रदेश प्रहरी सदैव कटिवद्ध रहने उल्लेख गरे ।

Write a Comment

Events
Random Picks