खर्चिलो तीज : पछिल्लो पुस्तालाई कस्तो सँस्कार सिकाउदैछौँ ?
8-August-2019


जक्सन डटकम
पोखरा, २३ श्रावण 

पाँच वर्ष पहिला म तिजको राम्रै तरिकाले रमाईलो गर्थे र अहिले त्यो भन्दा वढी रमाईलो गर्छु तर तरिका फरक छ । मेरो नाम अञ्जु क्षेत्री हो केसी भने पनि हुन्छ । मेरो माईत पर्वत र घर पोखरा महानगर वडा नं पाँच प्रस्याङ हो । म वडाको महिला जनप्रतिनिधी हो त्यो भन्दा बढी सामाजिक अभियन्ताको रुपमा चिन्छन् मलाई । म सामाजिक संजालमा राम्रै दख्खल राख्छु तर त्यसको दुरुपयोग भने गर्दिन ।  

अहिले मलाई एउटै कुराको चिन्ता छ, मैले मेरो छोरीलाई तिजको संस्कृती हस्तान्तरण गर्दा के दिने ? हामी अहिले तिजका नाममा विकृत भएका छौं । तीजमा मलाई माईत जाने फुर्सद हुँदैन । नाग पञ्चमी देखी नै तिजका नाममा खानपीन र रमाईलो सुरु हुन्छ । वास्तवमा यो प्रचलन तिज संस्कृती हुँदै होईन ।

आज लगाएको ड्रेस भोलीको कार्यक्रममा लगाउनै मन पर्दैन किन भने दैनिक एउटै ड्रेसको फोटो सामाजिक संजालमा पोष्ट गर्दा अरुले गर्ने व्यङग्यात्मक कमेन्ट “एउटै साडीमा यत्तिका दिनको तिज” जस्ता कुराले नसकेरै भए पनि प्रत्येक दिनको तिज कार्यक्रममा सहभागी हुँदा फरक फरक कपडाको जरुरी पर्ने जुन आम महिलाको लागि असम्भव जस्तै छ ।

त्यति मात्रै कहाँ हो र अधिकतम कार्यक्रमहरुमा दरका नाममा गरिने अनिवार्य टिकट व्यबस्थाले पनि अधिकतम कमजोर आर्थिक अवस्थाका महिलाहरुमा हिनतावोध हुने समस्याले ग्रसित भएको देखेकी छु र भोगेकी छु ।”

तीज सवैका लागि समान आस्थाको चाड हो भन्ने कुरा सबै माझ बुझाउनका लागि हामीले  भड्किलो तिजका विरुद्धमा अभियान चलाएका छौँ । सुरुमा हामी चार पाँच जना मात्रै सल्लाह गरेर अभियान चलाउने निर्णय गरेपनि अहिले हाम्रो अभियानमा ५० भन्दा वढी सामाजिक संघ संस्थाहरुका महिला दिदीबहिनीहरु प्रत्यक्ष रुपमा जोडिनुभएको छ । कमजोर आर्थिक अवस्थाको दिदी र समृद्ध वहिनीले पनि एकै स्थानम समाईलो गरी तिज मनाउने प्रचलनलाई सस्थागत गर्न पनि यो अभियान जरुरी भएको उनको भनाई छ । 

नारी जागरण अभियानका नाममा संगठित महिलाहरुले प्रदेशभरी नै तीजलाई सभ्य रुपले मनाउन अनुरोध गर्दै त्यसको लागि सहजीकरण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र समेत बुझाईसकेका छौँ । ज्ञापन पत्र बुझाउदै हामीले भनेका छौँ की, –“हामी हाम्रो संस्कृती संरक्षणमा लाग्ने हो न कि देखासिकीमा, हामी देखासिखीले बिग्रियौँ, जव विग्रिएको थाहा हुन्छ अनि सुधार्न पनि सुरु गर्नु पर्छ । यो अभियान समग्र महिला दिदीबहिनीको सुध्रने अभियान हो ।” 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले पनि अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ,–“पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ?, पुरुषले चुरोट खाए हामीले खान के भो ? भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन ।’ यो कुरा साँच्चै नै महिला दिदीबहिनीहरुले पनि बुझ्न जरुरी छ ।

मुख्यमन्त्रीले तिजको नाममा हुने विकृति रोक्न प्रदेशसभामा नै जानकारी गराएर प्रहरी प्रशासन मार्फत पहल गरिने बताईसक्नुभएको छ । भड्किलो भोज भतेरमा झुम्नुको साटो तिजको महत्वको विषयमा प्रवचन तथा गोष्ठीवाट पनि उदाहरणीय तरिकाले मनाउन सकिने विकल्प मुख्यमन्त्रीले दिनुभएको छ । 

यस्तै गत हप्ता कास्की जिल्ला प्रशासनले सूचना निकालेर हरितालिका तिजमा तडकभडक, ध्वनि प्रदूषण र फजुल खर्च गरी समाजको सहनशीलता र मौलिक परम्परा विपरीत गतिविधि गर्नेलाई कारवाही गर्ने जनाएको छ । टिकट छापेर पार्टी खाने, होटलमा सांगीतिक कार्यक्रम गर्ने, गहना प्रदर्शन, भोजभतेर गर्ने गर्दा हिन्दू नारीहरुको पर्वको मौलिकतामाथि नै प्रश्न उठेकाले यस्ता गतिविधि गर्नेहरुलाई कारवाही गरिने प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलको भनाई छ ।

जिल्ला प्रशासनले पनि यस्ता गतिविधिको सूक्ष्म निरीक्षण गर्ने जनाएको छ । आशा छ प्रशासनको यस्तो निगरानीले भड्किलो तिज सँस्कृतिलाई केही रोकथाम गर्छ कि त ? 

 

Write a Comment

Events
Random Picks