तीजमा टुँडिखेल मैदानमा मेला
18-August-2019

जक्सन डट कम 
भदौ ०१, पोखरा ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई छेको पारेर  पुष्पाञ्जली फेशन एण्ड इभेन्टले वाईवाई तीज मेला गर्ने भएको छ । भदौ ११ गतेदेखि १७ गतेसम्म पुरानो टुँडिखेल मैदान बगरमा हुने मेलामा मौलिक तीज गीत प्रतियोगितालाई विशेष प्राथमिकतामा राखिएको छ ।

संयोजक एवं पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमका अनुसार तीजको दिनमा वर्त बस्ने र नजीकको सेती नदीमा गई स्नान गर्ने तत्पश्चात टुँडिखेल मैदानमा बसी रातभरि आफ्ना विरहका गीत गाउने, नाच्ने र दुःख साटासाट गर्ने थलो टुँडिखेल भएकाले उक्त स्थानमा मेला गर्न लागेको हो ।

तीज प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ३० हजार १ सय १, रु २० हजार १ सय १ र १० हजार १ सय १ पुरस्कार स्वरुप प्रदान गर्नेे शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

यस्तै सान्त्वना हुने २ टिमले रु ५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । एकल तीज गीत गृहणी नृत्य प्रतियोगिता अन्तर्गत प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमशः नगद रु १० हजार १ सय १, ७ हजार १ सय १, ५ हजार १ सय १ र ३ हजार १सय १ प्राप्त गर्नेछन् ।

१ हप्तासम्म चल्ने मेलामा म्यूजिकल चियर प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत राखिएको मेलाका मूल आयोजक समितिका सहसंयोजक एवं इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।

मेलाभित्र महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायीक स्टलहरु र मनोरञ्जनका निम्ति बाल उद्यानको समेत व्यवस्था रहेको मेलाका प्रचारप्रसार उपसमितिका संयोजक दिनेश शर्माले बताए । उनका अनुसार मेलामा राष्ट्रियस्तरका कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

मेला सम्पन्न गर्न मूल आयोजक समिति, कार्य सम्पादन समिति, महोत्सव संरक्षण समितिसँगै २२ वटा विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए ।

मेलाबाट संकलित रकम इन्द्रेणी एकेडेमीमा रहेका विद्यार्थीका लागि खर्च गर्ने बताइएको छ । मेला विगत २ं०३७ सालदेखि पोखरामा निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल गण्डकी प्रदेशकै अग्रणी संस्था इन्द्रेणी एकीकृत विकास केन्द्रको सहकार्यमा गर्न लागिएको हो ।

Write a Comment

Events
Random Picks