काँग्रेस र कम्युनिष्टले जनतालाई राजनीतिक रोगी बनाए, अब साझाले संजीवनी छर्छ : मनकाजी गुरुङ
14-September-2019

जक्सन डट कम 
भदौ २८, पोखरा । 

काँग्रेस र कम्युनिष्टले जनतालाई राजनीतिक रोगी बनाए, अब साझाले संजीवनी छर्छ : मनकाजी गुरुङ, महानगर संयोजक (साझा पार्टी)

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको छेकोमा साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगरपालिका दुवै निकायको संयोजक घोषणा गरेको छ । पोखरा महानगरपालिका संयोजकमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका र थुप्रै सामाजिक संस्थाको अगुवाई गरेका युवा उद्यमी मनकाजी गुरुङलाई चयन गरेको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले आज शनिबार आयोजित एक समारोहका बीच मनकाजी गुरुङलाई माटोको टिका लगाएर महानगर संयोजकमा घोषणा गरेका हुन् । साझा पार्टीको निर्माणको जिम्मेवारी र आसन्न निर्वाचनको तयारी अब के कसरी हुन्छ भन्ने विषयमा केन्द्रित भएर जक्सन डटकमले महानगर संयोजक गुरुङसँग गरेको कुराकानीको सार संक्षेपः

म पेशाले म शिक्षक हुँ । म यस अघि कुनै पनि राजनीतिमा संलग्न थिईनँ । मलाई देशका अन्य कुनै पनि पार्टीले आकर्षित गरेन । कारण, म एउटा फरक सोचमा थिएँ। त्यो सोच वैकल्पिक राजनीतिको सोच थियो । देशको हालतले पनि उस्तै उदास बनाउँछ । देशले विभिन्न बाहानामा वैदेशिक रोजगारीमा युवा बेचिरहेको छ । देश छोड्ने बाहाना होईन देश बनाउने चाहना राख्नु पर्छ भन्ने मेरो मान्यता हो । यो उद्देश्य वैकल्पीक राजनीतिमार्फत् नै पूरा हुन्छ भन्ने मेरो मान्यता हो । त्यसैका लागि म साझा पार्टीको राजनीतिमा आएँ । म यस अघि कुनै पनि राजनीतिमा आवद्ध नभएको म फ्रेस व्यक्ति हुँ । अरु पार्टी नलागेकोमा पछुतो पनि छैन । 

अहिले सरकारमा पुगेको पार्टी र प्रमुख प्रतिपक्ष पार्टी दुवैको काम व्यवहार र विचारको मूल्याङकन गर्ने र जनमतमार्फत् उनीहरुलाई जवाफ दिने उत्तम अवसरको रुपमा आसन्न निर्वाचनलाई लिएको छु । काँग्रेस र कम्युनिष्ट पार्टीको लागि यो जनमत सँग्रह हो । कास्कीका जनताले यो अवसरलाई सही सदुपयोग गर्ने छन् भन्नेमा म ढुक्क छु । साझा पार्टीप्रति जनताको विश्वास यतिखेर झन् बढेको छ । साझा पार्टीको उम्मेदवारलाई जिताएर जनताले काँग्रेस र कम्युनिष्टलाई जवाफी हमला गर्नेछन् । जनमतबाट हुने हमलाको महत्व राजनीतिमा उच्च हुन्छ। कास्कीभित्र नै साझा पार्टीसँग एकसे एक योग्य र प्रभावशाली नेताहरु भएको हुँदा हामी यही माटो हावा पानीमा हुर्केको नेतालाई उम्मेदवार बनाउने छौँ । हामीले यो चुनावलाई अवसरका रुपमा लिएका छौं । चुनावी अभियानले हाम्रो संगठनलाई चट्टानझैँ बलियो बनाउने छ । यो अवसर साझा पार्टी कास्कीले पाएको छ । 

हामीले अगाडी सार्ने मुख्य कुरा खाजा भनेको कि मःमः कि चाउमिन जस्तो पराम्परागत होईन । यसले शरीरलाई फाईदा गर्दैन । त्यसैले आफ्नो जमिनबाट जे उत्पादन हुन्छ त्यसमा सन्तुष्टी हुनु पर्छ भन्ने नै हो । त्यसैले मःमः र चाउमिन जस्ता काँग्रेस र कम्युनिष्टले जनतालाई राजनीतिक रोगी बनाएका छन् । साझा नेपाली माटोमा जन्मेको अर्गानिक नेपालको पार्टी हो । माक्र्स, माओ र गान्धीको तस्वीरको पूजा हामी गर्दैनौँ । आम नागरिकलाई अहिले पनि सोध्नुस्– राजनीति भनेको के हो भनेर उनीहरुको सिधा जवाफ हुन्छ्– राजनीति धोका हो, बैमानी हो । त्यसैले हामीले जनतामा भएको यो भ्रमपुर्ण सोचलाई परिवर्तन गर्नु पर्ने छ । हामीले राजनीतिलाई माथिल्लो दर्जामा लैजानु पर्ने छ । 


योग्यता र क्षमताका आधारमा रोजगारी सृजना गरिनु पर्छ, न कि राजनीतिक भागवण्डा र हाडछालाको नाताका आधारमा । नेपाली सँधै परिवर्तन चाहन्छन् । समय सापेक्ष हामीले जनअपेक्षा पुरा गर्नु पर्छ । नत्र त राणादेखि पंचायतसम्म्कोे आन्दोलन कसरी सफल हुन्थ्यो र ? अहिले पनि हामी नागरिकको परिवर्तन चाहेका छौं । अहिलेसम्म व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन। दुई तिहाईको कम्युनिष्ट सरकारले समेत जनतालाई काम गरेर खाने र सुन्दर शान्त देश नेपालमा बसिरहने वातावरण बनाउन सकेन । समस्याको पहिचान, कार्य सम्पादन र सेवा प्रदान यी सबै काममा सरकार असफल छ । सरकारका खराब कामहरुको प्रष्ट विरोध र प्रतिवाद गरोस् भनेर काँग्रेसलाई जनताले प्रमुख प्रतिपक्ष दल बनाए । तर वाइड बडी विमान, बालुवटारको सार्वजनिक जग्गा र एनसेल जस्ता सबै काण्ड र प्रकरणमा काँग्रेस समेत सम्लग्न रहेको र त्यही कारण आँफू पनि दोषी करार हुन्छु भनेर काँग्रेस चुपचाप बसेको जनतालाई प्रष्ट थाहा छ । तसर्थ जनता विकल्पको खोजीमा छन् । साझा सही विकल्प हो । पद्धती, पारदर्शिता, इमानदारिता र उत्कृष्टता जस्ता खम्बाले बनेको साझा पार्टी नै सम्वृद्धिको संवाहक हो । कास्कीको उप निर्वाचनले साझा पार्टीलाई देशको नयाँ आशा बनाउने छ ।

Write a Comment

Events