पोखरेलीलाई नचाउन रसियन डिजे पोखरामा, ‘न्यू इयर म्यूजिकल फेस्ट’ आजदेखि
13-April-2018

जक्शन न्यूज
पोखरा, ३० चैत । 

रसियन डिजे  ‘सायना क्याथरिन’ले आज पोखरामा आफ्नो प्रस्तुती दिँदैछिन् । पोखरेली युवायुवतीलाई नचाउन भन्दै उनी यतिबेला पोखरामा आइपुगेकी छन् । नेपाली नयाँ वर्षको शुभकामनाको अवसरमा पोखराको लेकसाइड खहरेचोकमा आज हुने ‘न्यू इयर म्यूजिकल फेस्ट’मा क्याथरिनको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।

नयाँवर्षको शुभकामना आदानप्रदानसँगै संगीतको आनन्द लिन आयोजित म्यूजिकल फेस्ट २ दिनसम्म चल्ने आयोजकले बताएका छन् । कार्यक्रमलाई ‘स्पेक्स फोर्टिन’ ले आयोजना गरेको हो । 

क्याथरिनसँगै चर्चित र्यापर लाउरे, मुक्ति एण्ड रिभाइभल, रामजी खाँड, लक्ष्य ब्याण्ड, पिक्चर्स ब्याण्ड लगाएत नेपालका चर्चित डिजेहरुको साँगीतिक प्रस्तुती हुने आयोजक कम्पनीका महेश्वरसिँह भण्डारीले जानकारी दिए । 

आजको कार्यक्रम अन्तरगत साँझपख फेशन शो पनि राखिएको छ । शेप अप फेशन शो नाम दिएर आयोजकले पोखराका मोडलहरुलाई र्याम्पमा  उतार्दैछ । अमित बरालको डिजाइनमा हुने फेशन शोको ‘शो–स्टपर’को रुपमा नायिका ऋचा शर्मा रहेकी छन् । 

चैत २८ गतेदेखि लेकसाइडस्थित हल्लनचोकको चौरमा कार्यक्रम शुरु हुने भनिएपनि प्राविधिक कारणले कार्यक्रमलाई एकदिन पछि सार्नुपरेको आयोजकले बताएको छ । एक दिनपछि कार्यक्रमको नयाँ स्थान तोकिँदा दर्शकलाई पर्न गएको  असुविधाप्रति आयोजकले क्षमा समेत मागेको छ । 

Write a Comment

Events
Random Picks