मिटरमा नचल्ने १७ ट्याक्सी प्रहरीको नियन्त्रणमा
19-April-2018

स्वीप अपरेशनको क्रममा १ सय ८ जना एकैदिन समातिए

जक्शन न्यूज
पोखरा, ६ बैशाख । 

कास्कीमा मिटर चलाउन नमान्ने ट्याक्सीमाथि प्रहरी कडाईका साथ उत्रन थालेको छ । उसले मिटरमा चल्न नमान्ने १७ वटा ट्याक्सीलाई एकैदिनमा नियन्त्रणमा लिएर कारवाहि प्रकृया अगाडि बढाएको छ । 

तोकिएको भाडा दरभन्दा बढि लिएर मिटरमा जान नमान्ने ट्याक्सीहरुलाई उपभोक्तालाई ठगी गरेको आरोपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थप कारबाहिका लागि प्रहरीले ती ट्याक्सीहरुलाई यातायात व्यवस्थापन कार्यालय गण्डकीको जिम्मा लगाएको छ । 

केहि समय अगाडि मात्रै पोखरामा मिटरमा ट्याक्सी चलाउने गरि व्यवसायीहरुले सहमती गरेका थिए । यद्यपी केहि दिनका लागि मिटरमा चलेजस्तो गरेपनि ट्याक्सीहरुले आफ्नै हिसाबले मनोमानी तरिकाले भाडादर तोक्दै आएका छन् । पोखरामा चल्ने कुनै पनि त्यस्ता ट्याक्सी छ्रैनन्, जो मिटरमा चल्छन् । ट्याक्सी व्यवसायीको मनोमानी बढेपछि उपभोक्ताको गुनासो बढ्दै गएको थियो । 

सोहि अनुरुप कास्की प्रहरीले चलाएको स्वीप अपरेशनको क्रममा उनीहरु नियन्त्रणमा आएका हुन् । स्वीप अपरेशन अन्तरगत प्रहरीले अन्य १ सय ८ जनालाई समेत पक्राउ गरेको छ । बुधबार भएको स्वीप अपरशेन (विशेष सुरक्षा चेकजाँच)को क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण गर्ने गरि शुरु गरिएको स्वीप अपरेशनको क्रममा पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

१५ बुँदे कार्ययोजना बनाएर प्रहरीले स्वीप अपरेशन संचालन गरेको हो । यो कार्यक्रम अन्तरगत अपराध नियन्त्रण तथा रोकथामलाई प्रहरीले प्राथमिकतामा राखेको छ । त्यस्तै अवैध लागुऔषधको व्यापार तथा प्रयोग, आक्रमण र गुण्डागर्दीमा भने शून्य सहनशिलताको सिद्धान्त अपनाईने जनाएको छ 

Write a Comment

Events
Random Picks