प्रहरीको गोली लागेर सुर्खेतमा ३ जनाको मृत्यु (फोटो फिचर)
10-August-2015

सर्वसाधारणको जिउधनको रक्षाका लागि हवाइ फायर : गृह मन्त्रालय

सुर्खेत, साउन २३ / अखण्ड मध्यपश्चिमको माग राख्दै सुर्खेतमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर ३ जनाको ज्यान गएको छ।

स्थानीय प्रशासनले टिकाराम गौतमको मात्र मृत्यु भएको पुष्टी गरेको छ। प्रदर्शनकारीले प्रहरीको गोली लागि यमबहादुर बिसीको पनि मृत्यु भएको बताएका छन्।

एक जना नाम खुल्न नसकेका ब्यक्तिको पनि मृत्यु भएको प्रदर्शनकारीले बताएका छन्। तर उनको मृत्युको आधिकारिक पुष्टि हुन सकेको छैन्। यसैबीच हातमा गोली लागेर घाइते भएका अमित पन्तलाई उपचारका लागि काठमाडौं पुर्याइएको छ।

गृहमन्त्रालयले भन्यो - सर्वसाधारणको जिउधनको रक्षाका लागि हवाइ फायर

गृहमन्त्रालयले सुर्खेतमा भएको घटनाबारे एक विज्ञप्ति निकाल्दै जनताको जिउधनको रक्षाका लागि हवाइ फायर, लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको बताएको छ। अखण्ड मध्यपश्चिम र सुर्खेतलाई संघीय राजधानी बनाउन माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा सुर्खेतमा प्रहरीको गोली लागि सोमबार तीनजनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन्। कर्फ्यू तोडेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो।

Related Images