चर्किँदै हिन्दुवादी आन्दोलनः के गर्दैछ राप्रपा नेपाल ?
12-August-2015

हिन्दुहरुको आन्दोलनमा पैसाको खेल !

काठमाडौं/इटहरी– संविधानसभाको दोस्रो निर्वाचन ताका एउटा नारा चर्चित थियो । ‘एक भोट दाईलाई एक भोट गाईलाई’ भन्ने सो नाराले त्यतिबेला चर्चा मात्रै पाएन संविधानसभामा राप्रपा नेपाललाई चौथो स्थानमै पुर्याइदियो ।

राप्रपा नेपालले दिएको सो नाराको मुल भाव नै हिन्दु राष्ट्रपति आस्था भएकाहरुले गाईलाई भोट दिऊन् भन्ने नै थियो । सोहि अनुरुप प्रत्यक्षमा एक सिट पनि नजितेको उसले अप्रत्यारित रुपमा समानुपातिकमा २४ सिट प्राप्त गरेको थियो ।

हो, लामो समयदेखि नेपालाई हिन्दु राष्ट्र बनाउनुपर्ने भन्नै संघर्षरत राप्रपा नेपालले आफूहरुको एजेण्डाको सम्बोधन नभएपछि अहिले लगातार संविधानसभा बहिस्कार गरिरहेको छ । संविधानसभामा मात्रै होइन उसले देशव्यापी संघर्षको तयारी समेत गरिरहेको छ ।

राप्रपा नेपालका अनुसार नयाँ बन्ने संविधानमा धर्म निरपेक्षताको स्थानमा ‘हिन्दुराष्ट्र’ उल्लेख गरिनुपर्ने, संघीयता गणतन्त्रलगायतका विषयलाई जनमत संग्रहमार्फत टुंग्याइनुपर्ने तथा राप्रपा नेपालले संविधानसभामा पेश गरेको फरक मतमाथि छलफल हुनुपर्नेलगायतका माग राख्दै संविधानसभाका साथै देशव्यापी संघर्ष चर्काउने तयारी भइरहेको छ । पहिलो चरणमा साउन २९ गते राप्रपा नेपालले हिन्दुराष्ट्रको लागि देशव्यापी शक्ति प्रदर्शन गर्न लागेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

‘राप्रपा नेपालले कठीन मोडमा हिन्दु राष्ट्रको मुद्धा उठाएको छ, र निरन्तर जिम्मेवारी र संयमित ढंगले यसलाई जारी राख्छौं’ श्रेष्ठले भने, ‘‘विडम्बना भन्नुपर्छ, संविधानसभाको बैठक जारी रहेकै बेला हामीलाई पेल्छ खोजिएको छ तर, हामी यो एजेण्डा संविधानमा समेट्न चाहन्छौं ।

उनले बहुसंख्यक हिन्दुहरु भएको देशमा हिन्दु राष्ट्रको माग गरिनु स्वाभाविक भएको जनाउँदै उनीहरुको भावनाको पनि कदर हुनुपर्नेमा जोड दिए । ‘सुझाव संकलनका क्रममा पनि नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने आवाज चर्को रुपमा आएको छ, जनताको आवाजको प्रतिनिधित्व गर्ने संविधान बनाउने हो भने धर्म निरपेक्षता खारेज हुनुपर्छ’ उनको भनाई थियो ।

माग पुरा गराउन आन्दोलनको आँधी

‘२९ गते संविधानसभा घेराउ गरिनुका साथै बाँकी देशभरका जिल्लाहरुमा हिन्दुराष्ट्रको लागि बृहत प्रदर्शन हुन्छ’, श्रेष्ठले भने,‘ हिन्दुराष्ट्रको लागि हामी निर्णायक संघर्षको तयारीमा छौं ।’

उनले निर्णायक आन्दोलन कहिलेदेखि हुने भन्ने खुलस्त नपारेपनि पार्टी र सुभेच्छुकसँगको छलफलपछि तय गरिने जानकारी दिँदै नेपाललाई हिन्दुराष्ट्र बनाएरै छाड्ने बताए ।

हाल सीमांकनप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी दलहरुसँग संविधानसभाभित्र कार्यगत एकता गर्न सकिने समेत राप्रपा नेपालले जनाएको छ । ‘चार दलको स्वेच्छाचारी हर्कतविरुद्ध मधेसी दलहरु पनि विरोधमा रहेको अवस्थामा संविधानसभाभित्र कार्यगत एकता हुन सक्छ’ राप्रपा नेपालका एक नेताले रातोपाटीसँग भने, गर बाहिर भने त्यो सम्भव हुँदैन हामी एक्लै लड्छौं ।’ राप्रपा नेपालका सभासद दिलनाग गिरीले पनि आवश्यक परे संविधानसभाभित्र कार्यगत एकता हुन सक्ने बताउँदै बाहिर भने त्यो सम्भव नहुने बताए ।

संघीयताका विषयमा जनमत संग्रहको माग गर्दै आएको राप्रपा नेपाल एकाएक हचुवाको भरमा सीमांकनसहितको संघीयता बनाइएको भन्दै रुष्ट बनेको छ । जनता चाहना र विज्ञहरुको सुझावलाई वेवास्ता गर्दै हचुवाको भरमा सीमांकन गरिएको भन्दै एक केन्द्रीय सदस्यले भने, ‘ कसैको कुरा नसुनी राजनीतिक व्यक्तिले देशलाई काँक्रा चिरेजस्तो गरी चिर्ने ? अवैज्ञानिक सीमांकनले भोलिका दिनमा थप द्धन्द्ध सिर्जन नगर्ला भन्न सकिन्न ।’

वाञ्छित आन्दोलनमा राप्रपा नेपालको समर्थन

संविधान जारी हुने मिति नजिकिँदै जाँदा देशैभर हिन्दुराष्ट्रको पक्षमा आन्दोलन चर्किरहेको बेला राप्रपा नेपालले पनि आफ्नो अभियानलाई चलाइरहेको भने अन्य हिन्दुवादी संघ संगठनले चलाएको अभियानमा पनि समर्थन हुने जनाएको छ ।

हिन्दुत्वको सवालमा भएका वाञ्छित आन्दोलनमा राप्रपा नेपालको समर्थन रहन्छ ’, सहप्रवक्ता श्रेष्ठले भने, ‘ पवित्र उद्देश्य लिएर गरिएको पारदर्शी आन्दोलनमा समर्थन रहेपनि पूरै जिम्मेवारी भने लिँदैन ।

उनले सुरुदेखि आजसम्म पार्टी कार्यकर्ताको चन्दाकै भरमा चलाइएको दाबी गर्दै राष्ट्रवादी पार्टीले विदेशीबाट एक रुपयाँ पनि सहगोग नलिएको र नस्कीकार्ने पनि स्पष्ट पारे ।

‘हाम्रो पार्टी कार्यकर्ताबाट उठ्ने चन्दाबाटै आजसम्म चलेको छ’, उनले भने, ‘तर, ठूला कार्यक्रम र चुनावमा भने देशभित्रैका उद्योगी व्यापारीबाट लिएका छैनौं भन्दैनौं ।’

‘हिन्दु राष्ट्रको एजेण्डा उठान गर्ने सवालमा राप्रपा नेपालले कुनै सहयोग लिएको छैन । हामी देशभित्रको एजेण्डा स्थापित गर्नको लागि वैदेसिक सहयोग लिनुहुन्न भन्ने पक्षमा छौं, चाहे त्यो गणतन्त्र होस्, चाहे संघीयता , धर्म निरपेक्षता होस् या चाहे हिन्दुराष्टका लागि नै होस्’, उनको प्रष्टोक्ति थियो ।

यता केहि हिन्दुवादी संघसंस्थाहरुले पैसाको आडमा आन्दोलन चलाएको चर्चासँगै राप्रपा नेपाल समेत मुछिन थालेपछि उनीहरुसँग राप्रपा नेपालनै असन्तुष्ट भएको स्रोतले जनाएको छ ।

नाम उल्लेख नगर्न आग्रह गर्दै एक नेताले भने , ‘प्रदर्शनका नाममा धर्मगुरुहरुले समेत करोडौं खर्च गरेका छन् । त्यो पैसा कहाँबाट आयो ?’ उनले सो पैसा उनीहरुको खल्तीबाट नआएको भन्दै त्यस्ता घुसपैठपूर्ण आन्दोलनमा राप्रपा नेपालको समर्थन नहुने बताए ।

हिन्दुवादी आन्दोलनमा विदेशी लगानी ?

हिन्दुहरुको आन्दोलनमा पैसाको खेल भइरहेको चर्चा चलिरहेको बेला सुनसरीमा अप्रत्यासित रुपमा आन्दोलन चर्किरहेको छ ।

नयाँ बन्ने संबिधानमा नेपाललाई बौद्धिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै गत २६ दिनदेखी पूर्वको केन्द्र इटहरीमा हिन्दुधमर्वालम्बी तथा हिन्दुवादीहरुले सडकमा आन्दोलन चर्काउदै आएका हुन् । हिन्दुवादीहरुले दैनिक इटहरीको मुख्य चौकमा चक्काजाम तथा नारावाजी गर्दे आएका छन् ।

आन्दोलनकै क्रममा प्रहरीसंग पटक पटक झडप समेत हुदै आएको छ भने सो क्रममा अहिले सम्म एक सय भन्दा बढी प्रदर्शन कारी र १ दर्जन बढी प्रहरीहरु घाइते भइसकेका छन् ।

गत श्रावण १ गतेबाट इटहरीको पश्चिमलाइन स्थित खेतीखेला छेउमा सञ्चालित नेपाल माता रक्षार्थ श्रीमद्भागवत ज्ञान महायज्ञबाटै आन्दोलनको सुरुवात भएको हो । आन्दोलनको नेतृत्वकर्ता युवासन्तको नामले परिचित श्रीनिवासाचार्यले गर्दै आएका छन् ।

पछिल्लो समय ज्ञानमहायज्ञमा सहभागी भएका भक्तजनहरुलाई दुरुपयोग गर्दै श्रीनिवासाचार्यले सडकमा उतारेको बिभिन्न संघसंस्थाहरुले आरोप लगाउदै आएका छन् ।

त्यसमा पनि रोचक कुरा महायज्ञ ९ दिन सम्मका लागि भनीएपनि अहिले सम्म जारी रहेको छ । उक्त महायज्ञ कसको रकमले कसरी सञ्चालन भइरहेको छ यस बिषयमा प्रहरी प्रसाशनले पनि खोजबिन जारी राखेको छ । सोही महायज्ञमा दैनिक २ सय देखी ३ सय सम्मलाई पुरी , तरकारी दही र रसबरी जस्ता खानाको रुपमा उपलब्ध गराइदै आएको छ ।

यज्ञ सञ्चालक तथा बैदिक सनातन हिन्दु राष्ट्र संघर्ष समितीका संयोजक राजेन्द्र पोख्रेलले महायज्ञमा ज्ञान लिन भेलाभएका भक्तजनहरुबाट संकलित रकमबाटै खाना देखी सम्पुर्ण कुराहरु जुटाइएको दाबी गरेका छन् । तर हिन्दुहरुबाट संकलीत रकमले पानी देखी सम्पुर्ण सुबिधाहरु पूग्ने कतैबाट पनि देखिदैन किनकी दैनिक उक्त स्थानमा लाखौं खर्च भइरहेको देखिएको छ ।

यस्तै सन्दर्भमा हिन्दुवादीहरुको आन्दोलन भारतीय गुप्तचर बिभाग ( रअ ) का पूर्व प्रमुख तथा हालका प्रतिनीधी डा . आरपी सिंहको इसारामा चलेको आरोप लागेको छ । भारतको बिहार स्थित भागलपुरमा बसोबास रहेको भारतीय गुप्तचरका प्रतिनीधी डा . सिहं गत केही साता देखी बिराटनगर स्थित जेनियल होटलमा बसोबास गर्दै आएको स्रोतको भनाई छ ।

उनलाई नेपालका प्रहरीले समेत सुरक्षा प्रदान गर्दै आएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका एक उच्च प्रहरी श्रोतका अनुसार हिन्दुहरुको आन्दोलनलाई कसरी अघी लैजाने अनी कतिलाई सडकमा उतार्ने भन्ने बिषयमा दैनिक बिराटनगर स्थित जेनियल होटलमा बार्ता हुने गरेको छ ।

बार्ताकै क्रममा केही दिन अघि मात्र इटहरी आइ हिन्दुवादीहरुको आन्दोलनमा सम्बोधन गरी काठमाण्डौ फर्किएका बिवादस्पद स्वामी तथा प्रसिद्ध मुक्तिनाथधामका पिठाधिस्वर कमलनयनाचार्यले समेत भारतीय गुप्तचर तथा प्रतिनीधी सिंलाई भेट गरी आन्दोलनको बिषयमा केही कुराकानी गरेको प्रहरी श्रोत बताउँछ ।

भारतीय गुप्तचर तथा हालका प्रतिनीधी डांसिंहसंग कमलनयनाचार्यको बिराटनगर स्थित जेनियल होटलमा करीब ३ घण्टा कुराकानी भएको प्रहरी श्रोतको दाबी छ ।

text copy :  http://www.ratopati.com

Events
Random Picks