सुनकाण्डमा उच्चतहका व्यक्ति पनि कानुनी दायरामा अाउँछन् : गृहमन्त्री
27-June-2018

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुनकाण्डमा उच्च तहका व्यक्ति पनि विस्तारै कानुनी दायरामा आउने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री थापाले सुनकाण्डको छानबिन भइरहेकाले उच्च निकायका व्यक्तिहरु पनि अनुसन्धानको घेरामा आउने बताएका हुन् ।

‘अहिले जहाँसम्म अनुसन्धान पुगेको छ, हामीलाई लाग्छ उच्च निकायकाहरु पनि अनुसन्धानको घेरामा आएका छन् । अहिले अनुसन्धान जारी छ । भविष्यमा अरु उच्च तहका पात्र पनि कानुनको घेरामा आउन सक्छन्, अहिले अनुसन्धान टुंगिएको छैन’ उनले भने ।

सीमा सुरक्षा र सम्भावित अतिक्रमण रोक्न आवश्यक व्यवस्था मिलाइएको जानकारी दिँदै मन्त्री थापाले आगामी वर्ष १० वटा सीमा सुरक्षा पोष्ट विस्तार गर्ने लक्ष्य रहेको बताए ।

उनले नेपाल प्रहरीको थप दरबन्दी सिर्जना गरिएकाले दरबन्दी विस्तारपछि मुलुकका सबै स्थानीय तहमा प्रहरी पोष्ट स्थापना हुने जानकारी दिए । ताेकिएको समयमा ठेक्का पूरा नगर्ने र विकास निर्माणका काम अलपत्र पार्ने ठूला साना सबै ठेकेदारलाई कारवाही गर्ने पनि मन्त्री थापाले बताए ।

उनले विदेशी राजदूतले विभिन्न जिल्लामा गएर आफूखुसी विकास निर्माणमा खर्च गर्न नसक्ने व्यवस्था कानुनमा नै स्पष्ट भएकाले त्यसो भएको भए छानबिन गरेर रोकिने प्रतिद्धता जनाए ।

आपराधिक गतिविधि नियन्त्रणका लागि कानून बमोजिम प्रशासनिक निकायलाई थप प्रभावकारी बनाइएको, भ्रष्ट्राचार कुकृति र जनविरोधी क्रियाकलापलाई निस्तेज पार्ने काम सुरु भइसकेको उल्लेख गर्दे मन्त्री थापाले अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताए ।

मन्त्री थापाले विपद व्यवस्थापनका लागि २४ सै घण्टा तयार रहने गरी मनसुन आपतकालिन योजना २०७५ तयार गरी लागू भइसकेको तथा आन्तरिक सुरक्षा तथा सुव्यवस्था ऐन र गृह प्रशासन ऐन तर्जुमाको गतिलाई तीब्रता दिइएको जानकारी दिए ।

Write a Comment

Events
Random Picks