३ दिने शैक्षिक हड्ताल फिर्ता !
3-July-2018


जक्सन डटकम
पोखरा, असार १९ 
आठ विद्यार्थी संगठनले यही असार २० देखि २२ गतेसम्म गर्ने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् ।
विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा बढेको अराजकता, शुल्कवृद्धि लगायत समस्याको समाधान गर्न माग गर्दै असार २०,२१ र २२ गते देशभरका शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका थिए । तर शिक्षा मन्त्रालय, प्याब्सन र एनप्याब्सनबीच सोमबार राति भएको वार्ताबाट हड्ताल फिर्ता लिने सहमति भएको हो ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले हड्ताल फिर्ता लिएको जानकारी दिएका छन् । वार्तामा शिक्षा मन्त्रालयका तर्फबाट सहसचिव सुर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल र प्याब्सन कार्यबाहक अध्यक्ष डिके ढुंगाना तथा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको सहभागी थिए ।

 

Write a Comment