प्रचण्डका घरबेटी ठेकेदार विरूद्ध सांसद थापाले गुहारे सडक विभाग
7-August-2018


जक्सन डटकम 
पोखरा, साउन २२ 
नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट ठेकेदारले राजधानीका मुख्य–मुख्य बाटो निर्माणको काम महिनौं रोकेको आरोप लागेको छ। पार्टीका गृहमन्त्रीले ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने अभियान चलाइरहँदा दाहालनिकट ठेकेदारले भने ठेक्का सम्झौता म्याद गुजार्दै सडक निर्माण अलपत्र पारेको आरोप लागेको हो।
दाहालनिकट शैलुङ कन्स्ट्रक्सन प्रा।लि।का ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का सम्झौता सकिएको झन्डै एक वर्ष पुग्दा पनि राजधानीका बाटोको काम पूरा गरेका छैनन्।
अधिकारी ललितपुर खुमलटारस्थित दाहाल निवासका घरबेटी हुन्। पूर्वएमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकीकरणका छलफल पटक पटक अधिकारीको ललितपुर सिडिओ कार्यालयसँगैको घरमा भएको थियो।
समयमै काम गर्न नसके पनि दाहालका घरबेटीलाई भने कारबाहीको दायरामा ल्याइएको छैन।
ठेक्का सम्झौता म्याद गुजारेको भन्दै काठमाडौं क्षेत्र-४ का सांसद गगन थापाले पटक–पटक सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराए पनि बाटो बन्नुको साटो अझ बिग्रँदै गएको बताएका छन्।
‘हामीले एक पटक मात्र होइन, पटक–पटक सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गरायौं,’ सांसद गगन थापाले सेतोपाटीसँग भने, ‘न ठेक्का सम्झौता रद्द भयो, न ठेकेदारलाई कारबाही।’
अधिकारीको कम्पनीले ठेक्का लिएको काठमाडौं क्षेत्र नम्बर ४ को सुन्दरबस्ती, आदर्शनगर, चुनिखेल, टुपेक, टुसाल, जग्दोले राष्ट्रिय सहिद पार्क बाटोको म्याद गत वर्ष २०७४ साउन २० गते नै सकिएको छ। त्यस्तै, आकाशेधारा, बालुवाखानी, साततले सडक, राम मन्दिर, कृष्ण मन्दिर सडकको म्याद २०७४ असोज ३० गते सकिएको छ।
यसरी ठेक्का लिएका काम समयमै नसक्नेमा अधिकारी मात्र छैनन्।
राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रा लि र कांग्रेस निकट ठेकेदार कम्पनी सापले बुढानीलकण्ठ पूर्व तैलुङ स्कुल, देउवाचोक सडकको म्याद २०७४ असोज ३० गते नै सकिएको छ।
यस्तै, कांग्रेसका कतिपय नेता निकट ठेकेदार कम्पनी तुदी र प्रेराले सम्झौता गरेको चुनिखेल, चपली, बुढानीलकन्ठ सडकको म्याद २०७५ जेठ २ गते सकिएको छ। ती दुबै कम्पनीले ठेक्का लिएको अर्को महाकाल भृकुटी चोक, तेन्दिङ चोक फैका सडकको म्याद पनि जेठ २ गते नै सकिएको छ।
‘ठेकेदार कम्पनीलाई बोलाएर हामीले उजुरी र सार्वजनिक सुनुवाईमार्फत भन्यौं,’ थापाले भने, ‘ध्यानाकर्षण गराएको दुई चार दिन काम गरेजस्तो गर्ने, त्यसपछि चुपचाप बसेको देखियो।’ थापाले ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै पछिल्लो पटक साउन ९ गते सडक विभाग पुल्चोक गुहारेका छन्।
‘जनप्रतिनिधिको हैसियतले दर्जनौंपटक सडक डिभिजन कार्यालयमा जाने, ठेकेदार कम्पनीलाई बोलाउने तथा सहजीकरण गर्नका लागि थुप्रै यत्न गरियो,’ थापाले भने, ‘दबाब दिने सबै काम गर्यौं, तर, चाहँदा चाहँदै पनि सकिएन।’
थापाका अनुसार ठेकेदार कम्पनीको नियत नै खराब देखिएको छ। उनका अनुसार ठेकेदारलाई पक्रेर फौजदारी अभियोग लगाउने कार्य आफैंमा जायज हैन। बरू, उनीहरूको ठेक्का सम्झौता रद्द गरिदिएको भए यस्तो अवस्था नआउन सक्थ्यो।
अहिले क्षेत्र नम्बर ४ का यी सडकहरू हिँड्नै नसक्ने भएका छन्। बर्खायाममा सर्वसाधारणलाई सास्ती मात्रै भएको छ। ‘सरकार कारबाहीको धम्की दिन्छ, समयमा काम नसक्ने ठेकेदार कम्पनीको म्याद चाहिँ सडक डिभिजनले थप्छ,’ थापाले भने, ‘कारबाही गर्ने तरिकै भएन, ठेकेदारलाई पक्रेर सडक निर्माण पूरा हुँदैन, उसलाई कारबाही गर्ने छुट्टै पाटो अबलम्बन गरेको भए बेस हुन्थ्यो।’
साततले नजिक निवासी वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालका अनुसार यहाँका बाटोको समायावधि सकिएपछि पछि सोही ठेकेदार (अधिकारी)लाई पटक–पटक ठेक्का नवीकरण गरिएको छ। उनका अनुसार त्यहाँका जनता शान्त छन्, नत्र धान रोप्थे।
‘नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई तह लगाउने भनेर केही मान्छेलाई हायल–कायल बनाउनुभयो, तर शारदामाथि प्रश्न उठ्न थालेपछि उहाँ शान्त हुनुभयो,’ दाहाल भन्छन्, ‘तीन चोटीभन्दा बढी ठेक्का रेन्यू भयो, माटो ल्याएर पुर्ने गर्नुहुन्छ, पानीले बगाइहाल्छ, हालत उही हुन्छ।’

सोत्र: सेतोपाटी

 

Write a Comment

Events
Random Picks