भदौ ६ र ७ गते नेपाल बन्दको आवहान
21-August-2015

पोखरा, ४ भदौ / नयाँ बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चितताको माग राख्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदद्धारा भदौ ६ र ७ गते नेपाल बन्दको आव्हान गरेको छ ।

आदिवासी जनजाति महासंघ कास्कीद्धारा शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी पहिचान र सार्मथ्यको आधारमा राज्य पुर्नसंरचना गरी यस क्षेत्रलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने, धर्म निरपेक्षता कायम हुनुपर्ने, समानुपातिक समावेशिता सुनिश्चितता सहितको संविधान निर्माणको मागसहित नेपाल बन्द आव्हान गरिएको जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जानकारी दिनुभयो ।

यसरी नै नेपाल सरकारले आदिवासी जनजातिसँग विगतमा गरेको २० र ९ बुँदे सहमति अनुसार संविधान निर्माण, नेपालले हस्ताक्षर गरेको अन्तराष्ट्रिय महासन्धिहरुको भावना अनुसार संविधान बनाउनु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने, तमुवानमा तमु लगायतका भाषाभाषीलाई कामकाजी भाषाको व्यवस्था गर्नुपर्ने लगायतको माग गर्दा पनि संविधान निर्माणको क्रममा बेवास्ता गरिएकाले बाध्यताबस नेपाल बन्द आव्हान गर्नुपरेको अध्यक्ष घर्तीले बताउनुभयो ।

दुई दिने नेपाल बन्दका लागि शनिवार पोखराका लखनचोक, सितलादेवी र बगर पिएन क्याप्पस गेटबाट मसाल जुलुस गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने । पोखराको अलवा आदिवासी जनजाति महासंघ लेखनाथ नगर समन्वय परिषद र हेम्जा समन्वय परिषदले पनि बन्दको आव्हान गर्दै मसाल जुलुस गर्ने तयारी भएको अध्यक्ष घर्तीको भनाई थियो ।

बन्दलाई सफल बनाउन कास्कीका आदिवासी जनजाति संघ संस्था, विभिन्न राजनीतिक पार्टीका जातिय मोर्चा संगठनहरु लगायत आदिवासी जनजाति अधिकारकर्मीहरु रहेको महासंघ कास्कीको अध्यक्ष पानबहादुर भुजेलको अध्यक्षतामा ५०१ सदस्यीय आन्दोलन समिति, ३१ सदस्यीय सचिवालय र १०सदस्यीय स्टेरिङ कमिटि क्रियाशील रहेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

भदौ ६ र ७ गतेको बन्द विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गरिने र बन्दमा प्रेस, एम्बुलेन्स, पानी,  दुध, कुटनितीक नियोग, पर्यटकको यातयातको साधनलाई छुट रहेको बताईएको थियो ।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन सचिव पुर्ण लामाले गर्नुभएको थियो ।

यसैविच बन्दलाई सफल बनाउन शुक्रवार नै तमु धिं नेपाल, नेपाल मगर संघ कास्की, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्की र नेपाल तामाङ धेदुङ कास्कीको भिन्दा भिन्दै तयारी भेला सम्पन्न भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति तमुवानका प्रवक्ता दिपक तामाङले जानकारी दिनुभयो ।