एसएसपी न्यौपानेको ३ बजे आर्यघाटमा अन्तिम संस्कार हुने
25-August-2015

सोमबार कैलालीको टिकापुरमा थरुहट पक्षधर आन्दोलनकारीसँगको झडपमा मारिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको मंगलबार दिउँसो आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार हिजो टिकापुरबाट धनगढी लिइएको न्यौपानेको शव धनगढीमा राखिएको छ। ‘उहाँको परिवारसहित हेलिकप्टर धनगढीबाट उड्ने क्रममा छ’, बमले भने ‘तीन बजेतिर आर्यघाटमा उहाँको अन्त्योष्टि गर्ने हुनेछ।’

बमका अनुसार विमानस्थलबाट न्यौपानेको शव महानगरीय प्रहरी वृत्त गौशालामा राखिनेछ। त्यहाँ उनको शवलाई श्रद्धाञ्जली दिएर पशुपति आर्यघाटसम्म शव यात्रा गरिनेछ। शव यात्रामा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालपनि सहभागी हुनेछन्।

पशुपति आर्यघाटमा आफन्त न्यौपानेको शवलाई फूलमाला चढाएपछि नेपाल प्रहरीको टुकुडी न्यौपानेलाई अन्तिम सलामी दिनेछ।

बमका अनुसार घटनमा मारिएका अन्य प्रहरी कर्मचारीको उनीहरुकै घर गाउँमा अन्त्यष्टि गरिने भएको छ।

Write a Comment

Events
Random Picks