अब राष्ट्रियता बचाउन जनता नै जाग्नुपर्ने
4-September-2015

पोखरा, भदौ १८ / राष्ट्रियताको सवालमा अब सबै देशभक्तहरु एकै ठाउमा उभिन जरुरी भईसकेको पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । 

देशभक्त संघिय जनवादी मोर्चाले आयोजना गरेको ‘राष्ट्रियता माथिको हमला र हाम्रो दायित्व’ बिषयक अन्र्तकृया कार्यक्रममा सहभागीहरुले नेपालमा भएका सम्पूर्ण देशभक्तहरु, देशलाई माया गर्नेहरु देशको सिमाना जोगाउन र छिमेकीको हेपाहा प्रवृत्ति विरुद्ध एकै थलोमा उभिनुपर्नेमा जोड दिए । अब ठूला दलका ठूला भनिएका नेताहरुबाट मुलुकमाथि नाङ्गो हस्तक्षेप हुँदा पनि दलाली, चाकडी गर्ने प्रवृत्तिबाट मुक्त हुन नसकेकाले जनता नै जाग्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । 

कार्यक्रममा अधिवक्ता हिमलाल पराजुलीले एक कार्यपत्र प्रस्तुत गर्दै अब मुलुकको अस्तित्व र राष्ट्रियता धरापमा पर्दै गएका बेला नेपालका सबै खाले पार्टीभित्र रहेका देशभक्तहरुको बृहत मोर्चाको आवश्यकता औंल्याए । 

नेपालमा भारतको विस्तारवादी नीति र हेपाहा प्रवृत्ति अनि नेपालका नेताहरु चु समेत बोल्न नसकेकै  कारण राष्ट्रियता कमजोर भएको सो अवसरमा चर्चा गरिएको थियो । पछिल्लो समय लिपुलेक संझौता तथा भारतीय गृहमन्त्रीको अभिव्यक्तीका कारण पनि नेपाल सिक्कीमिकरणको खतरनाक बाटोमा जान लागेको पराजुलीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । १९५० को सन्धीमा स्पष्ट नेपालको किटान भएपनि भारतले नेपालको सिमा भन्दा ५३ किलोमिटर नेपाल तर्फ रहेको भु– भाग लाई समेत आफ्नो भुमि भनेर दाबी गर्नु नै नेपाली राष्ट्रियताको गभ्भीर खतरा भएको उल्लेख छ । हाल भारतले बिभिन्न ५४ स्थानको सिमा मिचेको  कार्यपत्रमा जनाईएको छ । 

कार्यक्रममा संघिय जनबादी मोर्चाका केन्द्रीय संयोजक तिलक परीयारले अब सबै शक्तिहरुको एकता बाट राष्ट्रियताको आन्दोलन अगाडी बढाउने उल्लेख गरे । नालायक नेताहरु आफू र परिवार केन्द्रित स्वार्थमा मात्रै केन्द्रित रहेको तर राष्ट्रको सवालमा अलिकतिपनि सोच्न नसकेकै कारण ईतिहासमा कसैको उपनिवेश नबनेको नेपाल भारतबाट संचालित हुनुपर्ने अवस्था आउन सक्ने खतरा औंल्याए । 

अधिवक्ता तिलक पराजुलीलले सत्तामा रहदाँ मौन बस्ने राजनीीतक दलहरुले सत्ता बाहिर हुँदा राष्ट्रियताको बारेमा गर्ने गरेको कुराको विश्वास गर्न सक्ने अवस्था नरहेको बताए । १२ बुँदे राजनीतिक सहमति नै नेपालमा भारतको स्पष्ट प्रवेश गर्ने माध्यम बनेको पराजुलीको भनाई थियो । 

राजनीतिमा समेत होमिएका अधिवक्ता सुरेन्द्र थापामगरले अब नेपालमा भारतको राजनीतिक तथा अन्य हस्तक्षेपको कडा विरोध नगर्ने हो भने देश सिक्किमिकरणको बाटोमा प्रवेश गरेको बताए । महान क्रान्तिकारी भनिएका नेताहरुको पछिल्लो गतिविधिले नेपाली राष्ट्रियता कति कमजोर रहेछ भन्ने उदाहरण दिएको उनको भनाई थियो । 

कार्यक्रममा बरिष्ठ मानवअधिकारबादी नेता टेकनाथ बराल, नेकपा एकिकृतका नेता भिम श्रीस, नेकपा– माओवादीकी सावित्रा दुरा आस्था, एकिकृत नेकपा माओबादी कास्कीका नेता विश्वप्रकाश लामिछाने, अधिवक्ता एकराज भण्डारी लगायतले बोलेका थिए ।