मधेसीहरु नेपाल सरकारको शासन नमान्ने, पहाडी मानसिकता बोकेका शासकहरुलाई लखेट्ने चेतावनी
9-September-2015

भैरहवा ,भदौ २३। मधेशी दलका शिर्ष नेताहरुले सरकारले गर्ने हरेक कार्यको अवज्ञा गर्ने बताएका छन् । मधेशी नेताहरुले नेपाल सरकारको शासन नमान्ने तथा सरकारले लगाएको नियमहरुको अवज्ञा गर्ने बताएका हुन् ।

भैरहवामा आयोजित बृहत बिरोध सभामा बोल्दै मधेशी दलका नेताहरुले भैरहवामा चौथो पटक लगाईएको निषेधाज्ञा तथा अन्य क्षेत्रमा लगाईएको कफ्र्यु आदेश समेत तोडनलाई कार्यकर्तालाई उक्साएका छन् ।

बिरोध सभालाई सम्बोधन गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको ढोका बन्द गरि सदन देखि सडकमा आउन बाध्य बनाएको जिकिर गरे । उनले बिगतमा मधेश सित भएको सम्झौता पुरा गर्ने दायित्व सरकारको रहेको बताए ।

सोही बिरोध सभालाई सम्बोधन गर्दै सदभावना पार्टीका रािष्ट्रय अध्यक्ष राजेन्द्र महतोले अहिलेको आन्दोलन निर्णायक भएको हुदा अधिकार नपाए सम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने बताए ।

उनले आन्दोलनलाई निर्णयक बनाउन काठमाण्डौंका दानापानी बन्द गरि दिने चेतावनी दिएका छन । मधेशमा रहेका पहाडी मानसिकता बोकेका शासकहरुलाई काठमाण्डौ लखेट्ने समेत उनले चेतावनी दिए ।

यसै गरि सोही कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा रहेका मधेशीलाई सरकारले बिदेशी ठानी सेना प्रयोग गरेकोले तत्काल सेना फिर्ता नगरे ठूलो नोक्सानी ब्यहोर्नु पर्ने चेतावनी दिएका छन । यादवले बराबरको सहभागीता सहित स्वायत मधेश प्रदेश बाहेक अन्य कुनै पनि बिकल्पमा सहमति हुन नसक्ने बताए ।

भैरहवामा निषेधाज्ञा आदेश जारी रहेको कारण रुपन्देही प्रशासनले निषेधित क्षेत्र बाहिर बिरोध सभा कार्यक्रम गरे पनि सभाका कारण दिनभरि जसो भैरहवाको जनजिवन त्रसित रहेको थियो । कुनै अप्रिय घटना हुन नदिन स्थानिय प्रशासनले शसस्त्र प्रहरी र नेपाल प्रहरी ब्यापक रुपमा परिचालन गरेको थियो भने नेपाली सेनाले पनि हेलिकप्टर मार्फत गस्ती गरेका थियो ।

Write a Comment