वीपीलाई हानेको गोलीले घाइते तारानाथको निधन
8-January-2019

जक्सन डटकम
पोखरा, पुष २४

पञ्चायतकालको जगजगी विरुद्ध २०३६ को असोज पहिलो साता स्याङ्जाको राङखोलामा नेपाली काँग्रेसले आमसभाको आयोजना ग¥यो । आमसभामा विपी कोइराला नै सहभागी हुने जानकारी आएपछि लमजुङका तत्कालिन सभापति तारानाथ कोइराला पनि पुगे । 

त्यतिबेला अहिले जस्तो भेला भएर विरोध जनाउन पाउने अवस्था थिएन । पञ्चायती व्यवस्थाका हिमायतीहरु र तत्कालिन राज्य संयन्त्रले आमसभा भाँड्न र नागरिकहरुलाई सहभागी हुन नदिन धेरै प्रपञ्च रचे । 
आमसभा स्थलमा जाने बाटोमा भिरबाट ढुङ्गा गुल्टाउने देखि कुटपिट र झडपका घटनाहरु भए । आमसभा जसरी पनि सफल पार्न भन्दै सबै कष्ट छिचोलेर काँग्रेस नेता, कार्यकर्तादेखि आम सर्वसाधारण उपस्थित भए । आमसभा सफल भयो । 

त्यो समयमा पञ्चायती सरकारले बहुदल वा एकदलीय पञ्चायती व्यवस्था भन्ने निर्णय लिन जनमत सँग्रहमा जाने निर्णय गरेको थियो । बहुदलको प्रचार भर्खर शुरु भएको थियो, नेपाली काँग्रेस लमजुङका पुर्व सभापति कृष्णप्रसाद कोइराला भन्छन्, त्यो आमसभा पनि बहुदलीय व्यवस्थाको प्रचार गर्न आयोजना भएको थियो । 

आमसभा सकिएपछि पञ्चायती व्यवस्थाका हिमायती र प्रहरीसँग झडपको अवस्था आयो । विपी कोइराला आम सभाबाट फर्कँदै गर्दा गोली चल्न थाल्यो । विपी कोइरालालाई नै ताकेर गोली चलाउन लागेको देखेपछि तारानाथ उनका अगाडी गएर उभिए । 

त्यसपछि उनको खुट्टामा गोली लाग्यो । त्यसयता उनी अपाङ्गताका जीवन विताइरहेका थिए । २०३३ देखि २०३६ सम्म नेपाली काँग्रेस लमजुङका संस्थापक सभापति रहेका तारानाथलाई विपी कोइरालाले नै पार्टीको क्रियाशिल सदस्यता दिएका थिए । 

उनको सामाजिक राजनीतिक जिवन यतिमै सिमित छैन । काँग्रेसको युवा संगठन नेपाल तरुण दल  लमजुङका संस्थापक अध्यक्ष रहेका तारानाथ गण्डकी छात्र संघका सदस्य, पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्दा २०२९ देखि २०३१ सम्म जेल बस्नुप¥यो । 

फेरी २०४२ सालको सत्याग्रह आन्दोलनमा जेव बसेका तारानाथ नेपाली काँग्रेसका महासमिति सदस्य, अपाङ्ग सहायता कोषका केन्द्रिय सभापति र प्रजातान्त्रिक सेनानी संघका केन्द्रिय सदस्य समेत भएका थिए ।
लमजुङको कोइरालाफाँटमा जन्मिएका तारानाथ त्यहाँबाट बसाई सरेर मध्यनेपाल नगरपालिका दुइपिप्लेमा बस्दै आएका थिए । नेपाली काँग्रेसले तारानाथलाई ‘प्रजातन्त्र सेनानी’को उपाधीले सम्मान गरेको छ । 

तर उनले पछिल्लो समय काँग्रेसभित्र विपी विचार मरेको र पार्टीमा पैसा र चाकडी गर्नेको हालीमुहाली भएको भन्दै चिन्ता व्यक्त गरिरहन्थे । गोली लागेर घाइते भएपछि सक्रिय राजनीति छाडेर घरमै जीवन विताएका उनी विपीको विचार र सिद्धान्त अँगिकार नगरे पार्टी चल्न नसक्ने उनको भनाइ रहन्थ्यो । 

आन्द्रा सम्बन्धी समस्याका कारण पछिल्लो समय मनिपाल शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत थिए तारानाथ । उपचारकै क्रममा बेहोस भएका तारानाथ आज २४ पुषमा कहिल्यै नफर्कने गरी चिर निन्द्रामा पुगेका छन् । 

उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि लमजुङको मध्यनेपाल स्थित दुइपिप्ले लगिएको काँग्रेसका स्थानीय नेता नवराज न्यौपानेले जानकारी दिए । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई अन्तिम श्रद्धाञ्जली दिएपछि दुइपिप्लेकै शिसाघाट स्थित मादी नदी किनारमा अन्त्येष्टी गरिएको उनले जानकारी दिए । 

 

 

Write a Comment

Events
Random Picks