कोमल ओलीको प्रश्नः बम्जनलाई पक्राउ गर्न किन नसकेको?
9-January-2019

जक्सन डटकम
पोखरा, पुष २५

सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद ओलीले तत्काल तपस्वी बम्जनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गरिन्। उनले भनिन्,‘सबै कुरा बाहिर आइसक्दा पनि बम्जनलाई सरकारले अझैसम्म किन पक्राउ गर्न सकेको छैन?’

सांसद ओलीले सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएकापनि अहिलेसम्म अनुसन्धान गरी पक्राउ नगर्नु आपत्तिजनक भएको बताइन्।

बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पुर्‍याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी थिइन्। यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न उनले सरकारलाई आग्रह गरिन्।

सांसद चक्रप्रसाद स्नेहीले डडेलुधरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले आगलागीका कारण रु डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह समेत गरे।

Write a Comment

Events
Random Picks